जिल्ला भलिबल संघको प्रथम साधारण सभा
व्यवसायिक भलिबल खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्य राखेर स्थापना भएको जिल्ला भलिबल संघ, गोरखाको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिँह बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले विभिन्न निर्णयहरु समेत गरेको छ ।
सभाले आउँदो चैत महिनामा पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । ‘चैत महिनामा पालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने निर्णय भएको छ’, संघका अध्यक्ष गुरुङले भने, ‘कति गतेबाट सुरु गर्ने भन्ने कुराचाहिँ हामी यथासीघ्र पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछौँ ।’
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष दुवै टिमलाई क्रमशः ७० हजार, ५० हजार र ३० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गर्ने पनि निर्णय भएको छ । साथै साधारण सभाले युवा पुस्तामध्यबाट व्यवसायिक भलिबल खेलाडी उत्पादन गर्न एवं युवा जगतलाई दुव्र्यशनीबाट बचाउन भलिबल खेलको विकास गर्न भरमग्दुर प्रयत्न गर्ने निर्णय भएको छ ।
साधारण सभामा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बस्नेत, संघका सल्लाहकार एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पृथ्वी गुरुङ, पूर्व प्रहरी इन्स्पेक्टर हरि थापा, संघका महासचिव राजुबाबु श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मण काप्रीलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।