| शुक्रबार, बैशाख २१, २०८१

सौरपानीको बारीका सुर्कामा खेल्दाखेल्दै अन्तर्राष्ट्रिय भलिबल खेलाडी बनेका धनबहादुर

प्रतीक्षा आले :

२०६८ सालको राष्ट्रपति रनिङ शिल्डमा सहभागी भई भलिबल विधामा जिल्लाकै सर्वोत्कृष्ट खेलाडी बनेका धनबहादुर भट्ट अहिले १३ वर्षपछि फेरि प्रथम अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा सहभागी हुन गोरखा आएका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानी जौबारीका भट्ट बारपाक सुलिकोट गाउँपालिकाको टिमबाट प्रतियोगितामा सहभागी बनेका हुन् ।

खासमा उनी प्रतियोगितामा भाग लिन आएका होइनन् । आयोजकको निमन्त्रणामा अतिथि बनेर आएका हुन् । तर पालिकाले प्रतियोगितामा भाग लिन अनुरोध गरेपछि उनी अहिले प्रतियोगितामा सहभागी भएका छन् । भट्ट पहिले सशस्त्र प्रहरीको खेलाडीहरुको टिममा आवद्ध थिए, पछि फेरि नेपाली सेनाका क्लवमा आवद्ध हुन पुगे । अहिले उनी नेपाली सेनाको तर्फबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका भलिबल प्रतियोगितामा भाग लिने गर्दछन् ।

विभिन्न आरोह अवरोह पार गर्दै १३ वर्षपछाडि पुनः सोही ठाउँमा आएर भलिबल खेल्न पाउँदा निकै गौरवान्वित अनुभूति भएको बताउँछन् । ‘१३ वर्षअघि यही मैदानमा खेलेर म सर्वोत्कृष्ट खेलाडी बनेको थिएँ’, उनले भने, ‘यसपालि संयोगबस फेरि यहाँ आई खेल्ने मौका जु¥यो । खेल्न भनेर त आएको थिइँन तर पालिकाले आग्रह गरेपछि नाई भन्न सकिन ।’

जिल्ला भलिबल संघ गोरखाले सोमबारदेखि तीनदिने अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्न आएका भट्ट अहिले उनकै पालिका बारपाक सुलिकोट गाउँपालिकाको तर्फबाट प्रतियोगितामा भाग लिइरहेका छन् ।

‘१३ वर्षपछि आउँदा धेरै कुराहरु परिर्वतन भएछन्’, उनले भने, ‘हाम्रो बेलामा भलिबलको क्रेज भिन्दै थियो तर अहिलेको खेलमा पहिलाको जस्तो क्रेज छैन् । भलिबलमा अहिलेको युवापुस्ताको चासो त्यति देखिँदैन् ।’ विद्यार्थी जीवनदेखि नै भलिबलमा खेलमा रुचि राख्ने उनी आपूm राष्ट्रिय स्तरको खेलाडी बन्न सक्छु होला भनेर कहिल्यै कल्पना नगरेको बताउँछन् ।

बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ जौवारीस्थित सिदार्थ माविबाट माध्यमिक शिक्षा पूरा गरेका उनले एसएलसी लगतै भलिबल खेलमा पूर्ण रुपमा लागि परेको बताउँछन् । भट्ट आपूm सानैदेखी गाउँमा भलिबल खेल्ने गरेको सम्झन्छन् । उनी भन्छन्, ‘पहिला पहिला गाउँतिर फुटबल, क्रिकेट खेल्न मिल्ने ठूला खेल मैदानहरु हुँदैनथे । भलिबल त अब सानो गराको सुर्कोमा खेलेपनि मिल्ने भयो फेरि बल, नेटहरु पनि सस्तो हुने भएकाले गाउँतिर प्राय सबैजना युवायुवतीहरु भलिबल खेल्ने गर्दथे ।’

‘यही मैदानमा राष्ट्रिपति रनिङ शिल्ड खेल्न आउँदा एकजना सशस्त्रका पदाधिकारीलाई मेरो खेल मन परेछ’, उनले भने, ‘खेल सकिएपछि उहाँले मलाई सशस्त्रको क्लबमा ट्रेनिङ गर्ने प्रस्ताव गर्नुभयो । मैले पनि प्रस्ताव स्वीकार गरेर सशस्त्रको हेडक्वाटरमा गएँ । ट्रेनिङमा पनि छनोट भएँ ।’ उनी करिब ६ महिना जति सशस्त्रको सम्पर्कमा भलिबल प्रतियोगिताहरुका भाग लिई सकेपछि २०६९ सालमा सशस्त्रमै भर्ती भएका थिए ।

‘छ महिनासम्म सम्पर्कमा खेलेपछि म जागिरमै लागेर सशस्त्रलाई प्रतिनिधित्व गरेर खेलहरु खेल्न थालेँ’, उनी भन्छन्, ‘पछि २०७२ सालमा पहिलो चोटी राष्ट्रिय भलिबल टिममा मैले डेब्यू गरेँ ।’ उनी पछि २०७२ सालमा नेपाली सेनाको प्राविधिक तहमा भर्ती भएको उनले बताए । सेनामै रहेर उनले निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरु खेल्दै आएका छन् । ‘मेहेनत गरे असम्भव भन्ने केही हुँदैन । सौरपानीको साना सुर्काहरुमा भलिबल खेल्न म अहिले राष्ट्रिय स्तरको खेलाडी हुँ भन्न पाउँदा निकै गर्व लाग्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्