| शुक्रबार, बैशाख २१, २०८१

खराब मौसमका कारण नवौं ओसन कप यु–१३को दुई खेल स्थगित

खराब मौसमका कारण नवौं ओसन कप यु–१३ को दुई खेलहरु स्थगित भएका छन् । ओसन क्लबको आयोजनामा गोरखा नगरपालिका–९ दलभन्ज्याङको खेलमैदानमा जारी नवौं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको दुई खेलहरु हावाहुरीका कारण प्रभावित बनेको क्लबका सचिव सबिन खत्रीले जानकारी दिए ।

थ्री स्टार क्लब र विराटनगर सिटी फुटबल क्लबबीच बेलुका साढे ५ बजेबाट हुने भनिएको खेल स्थगित भएको उनले बताए । हिल्ली फिल्डर्स गोरखा एफसी र क्यासी स्पोर्टस एकेडेमी बीचकोे खेल पनि स्थगित भएको छ । खराब मौसमका कारण बेलुकी साँढे ६ बजेबाट हुने भनिएको उक्त खेल स्थगित गर्नुपरेको सचिव खत्रीको भनाइ छ ।

नवौं ओसन कप दोस्रो दिन बिहिबार ६ खेलहरु मात्र समपन्न भएका छन् । पहिलो खेल बिहान ८ बजे लक्ष्मी सामुदायिक शिक्षा सदन र सोसियल वेलफेयर स्पोर्टस सेन्टर क्लब बीच भएको थियो । उक्त खेलमा २—१ को गोल अन्तरले लक्ष्मी सामुदायिक शिक्षा सदन बिजयी बनेको छ । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र घोडाघोडी फुटबल एकेडेमी बीच भएको दोस्रो खेलमा २—१ को गोल अन्तरले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर बिजयी बनेको आयोजक क्लबले जनाएको छ । क्लबका अनुसार तेस्रो खेल नव जनजागृति युवा क्लब र हिल्ली फिल्डर्स गोरखा एफसी बीच भएको थियो । सो खेलमा ४—० गोल अन्तरले नव जनजागृती क्लव बिजयी बनेको छ ।

यता क्यासी स्पोर्टस एकेडेमी र विराटनगर सिटी फुटबल क्लबबीच भएको चौथो खेलमा ६–१ को गोल अन्तरले क्यासी स्पोर्टस एकेडेमी बिजयी बनेको छ । पाँचौ खेल बाल्मिकी शिक्षा सदन र घोडाघोडी फुटबल एकेडेमीबीच भएको थियो । २–२ गोलको बराबरीमा खेल टुंगिएको क्लबका सचिव खत्रीले बताए । छैटौ खेलमा घोडाघोडी फुटबल एकेडेमी बिजयी बनेको छ । सोसियल वेलफेयर स्पोर्टस सेन्टर क्लबलाई ४–३ को गोल अन्तरले पछि पार्दै घोडाघोडी बिजयी बनेको हो ।

प्रतिक्रिया दिनुहोस्