| शनिबार, बैशाख २२, २०८१

बारपाकमा सञ्चालित भलिबल प्रतियोगिताको दोस्रो दिन १३ खेल सम्पन्न

बारपाकमा सञ्चालित प्रदेश स्तरीय भलिबल प्रतियोगिताको दोस्रो दिन १३ खेल सम्पन्न भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको प्रतियोगिता अन्तरगत मंगलबार महिलातर्फ ७ र पुरुष तर्फ ६ खेलहरु सम्पन्न भएको हो ।
महिला तर्फको पहिलो खेल स्याङजा र नवलपुर बीच भएको थियो ।

उक्त खेलमा स्याङजा बिजयी बनेको जिल्ला खेलकुद बिकास समिति गोरखाले जनाएको छ । महिलातर्फ म्याग्दी र नवलपुरको पहिलो क्वाटर फाइनल खेलमा म्याग्दी बिजयी बनेको छ । दोस्रो क्वाटर फाइनल खेल कास्की र गोरखा बीच भएको थियो जसमा कास्की बिजयी बनेको छ ।

स्याङजा र बाग्लुङ्गबीच भएको तेस्रो क्वाटर फाइनल खेलमा स्याङजा बिजयी बन्यो भने पर्वत र तनहुँबीच भएको चौथो क्वाटर फाइनल खेलमा पर्वत बिजयी बनेको छ । यस्तै, महिलातर्फको पहिलो सेमिफाइनल खेल म्याग्दी र कास्कीबीच भएको थियो । कास्कीलाई हराउँदै म्याग्दी फाइनलमा प्रवेश गरेको छ ।

यसैगरी, स्याङजा र पर्वतबीच भएको दोस्रो सेमिफाइनल खेलमा पर्वत बिजयी बन्दै फाइनलमा प्रवेश गरेको छ । बुधबार महिला तर्फको फाइनल खेल म्याग्दी र पर्वतबीच हुने आयोजकले जनाएको छ । कास्की र स्याङजा भने दोस्रो र तेस्रो उपाधीका लागि लड्ने आयोजको भनाई छ ।

यता पुरुष तर्फको पहिलो क्वाटर फाइनल खेलमा बाग्लुङ्गलाई हराउँदै नवलपुर बिजयी बनेको छ । दोस्रो क्वाटर फाइनल खेलमा गोरखालाई हराउँदै तनहुँ बिजयी बनेको आयोजकले जनाएको छ । तेस्रो क्वाटर फाइनल खेल स्याङजा र लम्जुङबीच भएको थियो जसमा स्याङजा बिजयी बनेको छ । चौथो क्वाटर फाइनल खेलमा पर्वतलाई पराजीत गर्दै म्याग्दी बिजयी बनेको हो ।

पुरुष तर्फको पहिलो सेमिफाइनल खेल नवलपुर र तनहुँ बीच भएको थियो । तनहुँलाई हराउँदै नवलपुर फाइनलमा प्रवेश गरेको छ । यस्तै, म्याग्दी र स्याङजाबीच भएको दोस्रो सेमिफाइनल खेलमा म्याग्दीलाई हराउँदै स्याङजा फाइनलमा प्रवेश गरेको छ ।
बुधबार हुने पुरुष तर्फको फाइनल खेलमा नवलपुर र स्याङजा भिड्दै छन् । तनहुँ र म्याग्दी भने दोस्रो र तेस्रो उपाधीका लागि लड्ने आयोजको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्