
मनास्लुको फेदमा हाई अल्टिच्यूड फुटबल प्रतियोगिता : उपाधि साम्दो एफसीलाई
मेलिना बराम :
मनास्लु हिमालको फेदमा हाईअल्टिच्यूड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित चुमनुब्री २ स्यालामा सम्पन्न भएको छैठौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि साम्दो एफसीले उचालेको छ ।
आलोपालो प्रणालीअनुसार ल्हीस्यो क्लबको आयोजनामा स्यालास्थित खेलमैदानमा भएको फुटबल प्रतियोगितामा सामा एफसीलाई हराउँदै साम्दो एफसी बिजेता बनेको हो । उपाधिको लागि बुधबार भएको फाइनल खेलमा १–० गोल अन्तरले सामा एफसी पराजित हुँदै उपबिजेतामा सिमित रह्यो । बिजेता बनेसँगै साम्दो फुटबल क्लबले एक लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेको ल्हो माविका म्यानेजर उर्गेन लामाले बताए । उपबिजेता बनेको सामा एफसीले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै तेस्रो स्थानको लागि भएको सेमिफाइनमा खेलेका ल्हो एफसीले ३–२ गोल अन्तरले बिही एफसीलाई पराजित गरेको थियो । तेस्रो स्थान हाँसिल गर्न सफल ल्हो एफसीले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले बताएको छ । यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि पुरस्कार दिएको जनाएको छ ।
प्रतियोगिता अवधिभरमा सामा एफसीका पेमा नोर्बु लामा उत्कृष्ट खेलाडी बनेका छन् । ल्हो एफसीका नोर्बु लामाले प्रतियोगिता अवधीभर ४ गोल गरेर उत्कृष्ट गोलकर्ता बनेका छन् । साम्दो एफसीका दावा साङ्पो उत्कृष्ट गोलकिप्पर बनेको उनले बताए । उत्कृष्टहरुलाई छुट्टै पुरस्कारको व्यवस्था रहेको थियो । प्रतियोगिातामा बिही एफसी फेयर टिम बन्दै नगद ६ हजार पुरस्कार हात पारेको छ । बिजेताहरुलाई कपका संस्थापक सोनाम दोर्जे रिम्पोछेले हस्तान्तरण गरेका थिए ।
उत्तरी गोरखा हिमाली भेगका युवाहरुबीच मेलमिलापको भावना विकास गर्न र स्थानीयहरु बीच एकआपसमा मेलमिलापको भावना जोगाउन लामा गुरु सोनाम दोर्जे रिम्पोछेले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको आयोजना गरी सुरु गरेका थिए ।
सोही समयबाट निरन्तर प्रतियोगिता आयोजना हँुदै आएको छ । प्रत्येक वडाले आलोपालो आयोजना गर्ने नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको आउँदो वर्ष हुने सातौं श्रृङ्खला प्रोक फुटबल क्लवले प्रोकमा आयोजना गर्ने भएको छ ।