
रंगशालाका लागि जग्गा हेरेपछि धुर्मुसले भने : जमिनका हिसाबले चितवन उत्कृष्ट पाएँ
चितवन : धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुर महानगरपालिका २० मा क्रिकेट रंगशालाको सम्भाव्यता अध्ययन गरेको छ। ईन्जिनियर सहित मंगलबार आएको फाउण्डेसनको समूहले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहको सहभागितामा स्थलगत रुपमा रंगशाला बनाउन सकिने या नसकिनेबारे सम्भाव्यता अध्ययन गरेको हो।
फाउण्डेसनले बनाउन लागेको ‘भगवान बुद्ध अन्तर्राट्रिय क्रिकेट रंगशाला’का लागि भरतपुर महानगरपालिकाले जग्गा दिने थाहा पाएपछि पत्र आउनुभन्दा पहिले नै सम्भाव्यता अध्ययनका लागि चितवन आएको फाउन्डेसनका संस्थापक सिताराम कट्टेल( धुर्मुस)ले बताए। सोमबार भरतपुर महानगरका प्रमुख रेणु दाहालले चितवनमा सबै सम्भावना रहेको भन्दै पश्चिम चितवनको निर्माणाधिन चित्रवन रंगशालामा उक्त खेलमैदान निर्माणका लागि जग्गा उपलव्ध गराउने घोषणा गरेकी थिइन्। आज पश्चिम चितवनको निर्माणाधिन चित्रवन रंगशालामा पुगेर टोलीले अध्ययन गरेको हो। सो क्षेत्र चितवनको सदरमुकाम भरतपुर बजारबाट करिब १५ किलोमिटर पश्चिममा पर्छ। स्थलगत निरिक्षकपछि फाउण्डेसनका संस्थापक एवं कलाकार सिताराम कट्टेलले स्थानका हिसाबले महत्वपूर्ण ठाउँ भएको भन्दै प्राविधिक रुपमा र आईसीसीको मापदण्ड अनुसारको भए रंगशाला निर्माण गर्न सकिने बताए। ‘हामी खेलका सबै गतिविधि गर्न सकिने रंगशाला निर्माणको पहलमा छौँ, कट्टेलले भने, ‘साझा अवधारणाको परियोजना भएकाले सबैको अपनत्व हुनुपर्छ भनेर लागेका छौँ।’
उनले नेपाललाई विश्वसामु चिनाउने र क्रिकेटको देश भनेर पहिचान दिलाउने अभियान भएकाले सबैको साथको खाँचो रहेको औंल्याए। अध्ययन टोलीमा सहभागी नेपाल ईन्जिनियर्स एसोसिएसनका उपमहासचिव रविभूषण झाले प्राविधिक हिसाबले पनि चितवनको चित्रवन उपयुक्त ठाउँ भएको प्रतिक्रिया दिए। उनका अनुसार ४० हजार क्षमताको बन्ने रंगशाला न्यूनतम ३०० रोपनीको जग्गा आवश्यक हुनेछ। अहिलेसम्म फाउण्डेसनले भक्तपुर, मुलपानी स्टेडियम, भैरहवा, रुपन्दहीको सैनामैनाको ६५ विगाहा क्षेत्रको समेत स्थलगत अवलोकन गरिसकेको छ। सो क्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले भनिन्, ‘तपाईहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ, सबै हिसाबले भरतपुर महानगर रंगशालाका लागि उत्तम हुन सक्छ।’
उपप्रमुख पार्वती शाहले भरतपुरमै बनाउनका लागि छिटो निर्णय गर्न आग्रह गर्दै जस्तोसुकै सहयोगका लागि तयार रहेको बताइन्। उनीहरूसँगको अध्ययन टोलीमा वागमती सफाई अभियानका अभियन्ता अर्जुन धरेल, कलाकारहरू मनोज गजुरेल, अर्जुन घिमिरे(पाँडे) र कुमार कट्टेल(जिग्री) सहभागी थिए।
चितवन सकेर टोली सम्भाव्यता अध्ययनका लागि आजै हेटौंडा प्रस्थान गरेको छ। छिट्टै स्थान तय गरेर शिलान्यासको दिनमा उद्घाटनको मिति तोक्ने फाउण्डेसनले जनाएको छ। कलाकारसहितको टोली आउँदा स्थानियहरू उत्साहित भएका थिए। स्थानियबासीले समेत रंगशाला निर्माण गर्न जस्तो सुकै सहयोग गर्नुपरेपनि तयार रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले जग्गा कति चाहिन्छ त्यही उपलव्ध हुने बताएका छन्। सो क्षेत्रमा अहिले रंगशाला निर्माणको काम चलिरहेको छ। त्यसैलाई विस्तार गरेर क्रिकेट स्टेडियमका लागि काम गर्न सकिने वडा नम्बर २० का वडाध्यक्ष मणिलाल तामाङले बताए।