| बिहिबार, मंसिर २०, २०८१

मोदी आउने भएपछि अन्नपूर्ण पदमार्ग अरु पर्यटन जान रोक

मोदी आउने भएपछि अन्नपूर्ण पदमार्ग अरु पर्यटन जान रोक

मुस्ताङ प्रशासन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको क्रममा अन्नपूर्ण क्षेत्रको पदयात्रामा राेकिने पदयात्रुलाइ वैकल्पिक मार्ग प्रयाेग गर्न दिनेबारे सकारात्मक देखिएकाे छ।

 

भ्रमणको क्रममा पदयात्राम गएका विदेशी पर्यटकहरुलाई रोक्दा विश्व बजारमा नराम्रो सन्देश प्रवाह हुने भन्दै सो निर्णयको आलोचना भएपछि प्रशासनले पदयात्रीको लागि ‘वैकल्पिक मार्ग’ प्रयोगको उपायबारे छलफल सुरू गरेकाे हाे। ‘हामीले पदयात्रीको लागि वैकल्पिक मार्ग प्रयोग गर्नेबारे छलफल गरिरहेका छौं’, मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने,‘यो विषयमा छिटै निर्णय हुन्छ।’

पदयात्रीको लागि वैकल्पिक मार्ग प्रयोग गर्न दिइए पनि मुक्तिनाथ दर्शनमा रोक लगाउने निर्णय यथावत रहने उनले बताए।

यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले मोदीको भ्रमणलाई लक्षित गरी वैशाख २८ र २९ गते मनाङ जिल्लाबाट थोराङ्ला पास हुँदै मुस्ताङ आउन तथा बेनी जोमसोमहुँदै मुक्तिनाथ दर्शनमा रोक लगाउने निर्णय गरेको थियो। अन्नपूर्ण पदयात्रा मार्गमा मनाङको खङ्सार हुँदै श्रीखर्क, तिलिचो बेसक्याम्प, तिलिचो ताल, मिसिकाम्तो पास हुँदै याकखर्क हुँदै मुस्ताङको ठिनी झर्ने वैकल्पिक मार्ग रहेको छ। ठिनी मुक्तिनाथको पारिपट्टीको गाउँ हो।

अन्नपूर्ण क्षेत्रको पदयात्राको प्रवेश मार्ग लमजुङ हो। थोरङ्ला पासपछि लामो ओरालो झर्नु पर्ने तथा मुस्ताङतिरबाट यात्रामा निस्कँदा एकाएक उकालो लाग्नु पर्ने भएकोले यात्रीहरु मनाङ हुँदै मुस्ताङ जाने गर्छन्। ट्रेकिंग एजेन्सिज एसोसियन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष दीपक अधिकारीका अनुसार तिलिचो जाने पर्यटकहरुले यो पदमार्ग प्रयोग गर्दै आएका छन्। अन्नपूर्ण क्षेत्रमा तेरिला पास भन्ने अर्को वैकल्पिक पदमार्ग भए पनि त्यो बाटो असजिलो भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्