| शुक्रबार, बैशाख २१, २०८१

मानहुँकोटमा केवलकार, जीपलाईन, रिसोर्ट सहितको पूर्वाधार निर्माण गर्न प्रस्ताव

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा कमिलाको जस्तै लस्करै मान्छेका ताँती देखिन थालेपछि पर्यटन व्यवसायीहरुले लगानी गर्न उत्सुक भएका छन् । केबलकार, जिपलाइन, स्विमिङ पुलसहित रिसोर्ट बनाउन निजी स्तरबाट अर्बौ रुपियाँ खर्च गर्न तत्परता देखाएको व्यास नगरपालिकाले जनाएको छ ।

चार अर्वको एक प्रस्ताव स्विकृत भएको र विस्तृत परियोजना प्रतिवेदन आउन बाँकी रहेको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो । ‘‘व्यास हिल्स प्राइभेट लिमिटेडेको नाममा उद्योगी आनन्द बतास समूहले मानहुँकोटमा चार अर्बको लगानी गर्छौ भनेर प्रस्ताव पेश भएको छ त्यो स्विकृत गरेका छौं’’ नगर प्रमुख न्यौपानेले भन्नुभयो । लगानीकर्तालाई आर्कर्षित गर्न सार्वजनिक निजी साझेदारी ऐन पारित गरी सहज वातावरण बनाईएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

यस ऐनको माध्यमबाट नगरपालिकामा पूर्वाधार संरचनाको निर्माण, सञ्चालन तथा सार्वजनिक सेवा प्रवाह गरी मुलुकको वृहत सामाजिक तथा आर्थिक विकास गर्न सहज हुने विश्वास नगर प्रमुख न्यौपानेको छ । सर्वसाधरणलाई भरपर्दो, किफायती र सर्वसुलभ रुपमा सेवा सुविधा उपलब्ध गराउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न ऐन निर्माण गरिएको उहाँको भनाई छ । कम्पनीको प्रस्तावपछि व्यास नगरपालिकाले विस्तृत परियोजना रिपोर्ट (डीपीआर) का लागि स्वीकृत प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार कम्पनीले पाटनबाट मानहुँकोटसम्म जिपलाइन एवं केबलकार बनाउने प्रस्ताव गरेको छ । कम्पनीले यो परियोजनाका लागि केही जग्गा खरिद गर्ने र ४० रोपनी जमिन लिजमा दिनको लागि पनि नगरपालिकासँग प्रस्ताव गरेको छ । प्रस्ताव निश्चित अवधिको लागि सम्झौता गर्ने र वार्षिक रुपमा सार्वजानिक जग्गाको भाडा र कर लिने मेयर न्यौपानेले बताउनुभयो । कम्पनीले विस्तृत परियोजना रिपोर्ट दिएपछि स्वीकृतिका लागि संघीय सरकारसँग पनि कुराकानी गरिने नगरपालिकाले जनाएको छ ।

मानहुँकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङलगायतका हिमशृङ्खला देखिन्छ । सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम र निर्माण स्थललगायतको मनोरम ठाउँ देखिन्छ । मानहुँबाट व्यास नगरपालिकाको १४ वटै वडा देखिन्छ । ‘‘गतवर्ष पर्यटकीय मौसममा दैनिक २÷३ सय हाराहारीमा पर्यटक आउँथे, हालको समयमा दशौं हजारको भीड उर्लियो यसले गर्दा पर्यटन व्यवसायीहरु आर्कषित भएका छन्’’ प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले भन्नुभयो ।

आजभोलि मानहुँकोटको चर्चा जताततै भएकोले पर्यटन व्यवसायीहरुको ध्यान तानिएकोले ठुलो लगानीकर्ता भित्रिन खोजिरहेका छन्’’ व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भन्नुभयो । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सौन्दर्य र त्यहाँ पुगेका पर्यटकको फोटो छ्यापछ्पाप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको जमात पनि बाक्लिएकोले पर्यटन व्यवसायीहरु ठुलो लगानी गर्न आतुर देखिएका छन्’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्