
पर्यटकलाई मन्त्रमुग्ध पार्दै पर्यटकीय गन्तव्य घोरेपानी
काठमाडौं, २० चैत्र । एकै स्थानबाट दर्जनौँ हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृष्यावलोकन गर्न सकिने विशेषता बोकेको म्याग्दीको घार गाविस–१ मा रहेको घोरेपानी र पुनहिलमा वसन्त ऋतु आउँदै गर्दा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको छ ।
समुद्री सहतदेखि तीन हजार २१० मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित पुनहिलबाट एकाबिहानै सूर्योदय र हिमशृङ्खलाको दृष्यावलोकन गर्न पर्यटकको सङ्ख्या केही दिनयता बढ्दै गएको हो । वर्षा कम भएर आकाश खुल्न थालेपछि पुनहिल पुग्ने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएको हो ।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य मानिने पुनहिल भ्रमणका लागि आउने पर्यटकको तथ्याङ्क राख्दै आएको कार्यालयका अनुसार घोरेपानीमा हिजोआज दैनिक डेढ सयदेखि दुई सयजना पर्यटक भित्रिएका छन् । घोरेपानी, पुनहिल घुम्नका लागि अमेरिका, चीन, अस्टे«लिया, जर्मन, फ्रान्स र बेलायतका पर्यटक बढी भित्रिएका छन् ।
म्याग्दीको भुरुङ तातोपानी, कास्कीको घान्द्रुक देउराली र बिरेठाँटी उल्लेरी हुँदै घोरेपानी पुगेर बास बस्ने पर्यटक त्यहाँदेखि एक घण्टा पैदल उकालो हिँडेर पुनहिलमा दृष्यावलोकनका लागि एकाबिहानै पुग्ने गर्दछन् । पर्यटक आगमनसँगै सुविधासम्पन्न होटल रहेको घोरेपानीमा व्यापार व्यवसायसमेत बढेको छ । पहिले सुनसान रहेको घोरेपानीमा केही दिनयता पर्यटकको चहलपहल र व्यापार बढेको घोरेपानी होटल व्यवसायीहरु बताउँछन् । घोरेपानीका पर्यटन व्यवसायीहरूलाई पर्यटकको स्वागत सत्कार गर्ने चटारो छ ।
घोरेपानीका अधिकांश होटल एक हप्ताअघि नै बुकिङ हुन थालेका छन् । धौलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ«ेदेखि मनास्लु रेञ्जका १६ वटा हिमटाकुरासँगै सूर्योदय, लालीगुराँसको घना जङ्गल, विभिन्न चराचुरुङ्गी, वन्यजन्तु र मगर संस्कृतिको अवलोकन एवं शान्त वातावरणमा रमाउन पाउनु घोरेपानी पुनहिलको प्रमुख विशेषता रहेको छ ।
घोरेपानी नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्यमध्ये एक हो । पुनहिलले अन्तुडाँडा बिर्साइदिन सक्छ । के तपाई पनि जाने हैन त घोरेपानी ? एकपटक गएर प्रकृतिको अनुपम आनन्द लिनुहोस् ।