
गोरखा उद्योग वाणिज्य संघ र जनप्रतिनिधिको राउण्डटेबल
गोरखा : गोरखा उद्योग वाणिज्य संघ र गोरखा नगरपालिकाको कार्य पालिकाको राउण्डटेबल सोमबार सम्पन्न भएको छ । संघका अध्यक्ष जीवनज्योति श्रेष्ठको अध्यक्षतामा सम्पन्न राउण्ड टेबलमा मुख्य बक्ता नगरप्रमुख राजनराज पन्त र १४ वटै वडाका अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु सहभागी थिए । त्यस्तै गोरखा उद्योग वाणिज्य संघ पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, महिला उद्यमी विकास समितिका अध्यक्ष रीता रेग्मी लगायतका टिम सहभागी थिए ।
नगरपालिका र संघले आपसी समन्वयमा गर्ने कामहरुको बारेमा सो राउण्ड टेबलमा छलफल भएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले नगरपालिका र उद्योग वाणिज्य संघले संयुक्त रुपमा पर्यटन सम्बन्धी कार्यक्रम गर्ने प्रस्ताब गरेका थिए । त्यस्तै व्यापारी ब्यबसायीसंघ नगरपालिकाले लिने करका लागि समन्वय गर्न संघ तयार रहेको जनाएका थिए । नगर पालिका र संघको समन्वयमा गोरखा आएका अतिथिलाई दिने मायाको चिनो गोरखामा नै उत्पादन गर्नुपर्ने, गोरखनाथ मन्दिर आसपासमा पूर्ण कदको गोरखनाथको सालिक निर्माण गर्नुपर्ने, गोरखाली खुकुरी उत्पादन गर्नुपर्ने, होमस्टेको विकासका लागि मिलेर काम गर्न उनले प्रस्ताब गरेको थिए ।
वडा नं. १४ का अध्यक्ष रामबहादुर खड्काले गोरखकाली, गोरखनाथ संगै अकला मन्दिरको प्रवद्र्धनमा सहकार्यको आव्हान गरेका थिए । वडा नं. ८ का अध्यक्ष कृष्ण केशीले जिल्लाबाहिरबाट तरकारी आयात बन्द गरेर नगरपालिकाकाभित्रका फाँट तथा टारमा व्यबसायिक तरकारी खेती गर्न सहकार्यको आव्हान गरे । वडा नं. ५ का अध्यक्ष राम बहादुर थापाले पस्लाङ होमस्टे स्थापना गरिएको तर प्रचार नभएको भन्दै यसको प्रवद्र्धनमा हातेमालो गर्नुपर्ने बताए । वडा नं. १० का अध्यक्ष देवीबहादुर बस्नेतले
देवीबहादुर बस्नेतले घरभाडा व्यबस्थित गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै वडा नं. १ का अध्यक्ष रहमतुल्ला मियाले नगरपालिका वा बिभिन्न संघसंस्थाले सीपमुलक तालिम दिएपछि उत्पादित बस्तुले बजार नपाउँदा स्वरोजगारतर्फ नगरबासी निरुत्साहित हुन थालेकाले बजारको व्यबस्था संघले गरिदिनु पर्ने तर्क गरेका थिए । वडा नं. ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले व्यबसायीले फोहर व्यबस्थापन नगर्दा नगर प्रदुषित भएकाले नगर स्वच्छ, सफा हराभरा बनाउन संघले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी वडा नं. ११ का अध्यक्ष रामबहादुर खड्काले गोरखनाथको बिगुतलाई प्रचार प्रसार गरी आयआर्जनको स्रोत बनाउनु पर्ने तर्क राखेका थिए । वडा नं. ६ का अध्यक्ष नारायणप्रसाद अर्यालले बिसे नगर्ची तथा थरघरका सालिक बनाएर पर्यटन व्यबसायलाई प्रवद्र्धन गर्नुपर्ने तर्क गरेका थिए । वडा नं. ९ का अध्यक्ष कुलबहादुर कुँबरले शिखरवेशी ताल र बोकरलक तालको प्रवद्र्धन गर्न सके गोरखा बजारको पर्यटन विकासमा टेवा पुग्ने धारणा राखेका थिए । नगरकार्यपालिका सदस्य साबित्री थापाले सीपमुलक तालिम लिएर सामान उत्पादन गरेका व्यबसायीलाई बजारको समस्या पर्ने गरेकाले संघले यसको व्यबस्था गरिदिनु पर्ने धारणा राखेकी थिइन् । गोरखा आयुर्वेदिक कम्पनीका अर्जुन अर्यालले गोरखा आयुर्देदिक कम्पनीका लागि जडिबुटी खेती व्यबसायिक रुपमा गरेमा बजारको दुख नहुने बताएका थिए ।
महिला उद्यमी विकास समितिकी अध्यक्ष रेग्मीले कोशेली घरको पुनसंचालन गर्नुपर्नेमा जोड दिएकी थिइन् । त्यस्तै नगरपालिकाले सीपमुलक तालिम सञ्चालन गर्दा उद्यमी विकास समितिसंग समन्वय गरेर स्थानीय प्रशिक्षकलाई अबसर दिन नगरपालिकालाई आग्रह गरेकी थिइन् । संघका उपाध्यक्ष भगवानबाबु मास्केले बजार व्यबस्थाका लागि संघ तयार रहेको तर्क गरेका थिए । कार्यक्रमको निश्कर्ष दिदै मेयर पन्तले नगरपालिका नीजिक्षेत्रसंग सहकार्य गर्न सँधै तत्पर रहेको जनाएका थिए । साथै आउँदो १३ गते हुने नगरसभाले संघले गरेका प्रस्ताबहरु अनुमोदन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । चितवन, पोखरा तथा मनकामना आएका पर्यटकलाई गोरखासम्म ल्याउने वातावरण बनाउन कार्ययोजना बनाउन आव्हान गरेका थिए । ढाका उद्योग जस्तै खुकुरी उद्योग सञ्चालन गर्न नगरपालिका सहकार्य गर्न तयार रहेको बताएका थिए । त्यस्तै चारबर्षभित्र गोरखनाथ, भीमसेन थापा, लखन थापाको सालिक स्थापना गर्न सहकार्य गर्न संघलाई आग्रह गरे । अहिले गरिरहेको जस्तो व्यापार, व्याबसाय भविष्यमा गोरखामा नचल्ने भन्दै उनले ब्यबसायीलाई पर्यटन व्यबसायमा लाग्न सुझाव दिए । स्थानीय उत्पादनको प्रवद्र्धन गर्न व्यापारीहरुलाई आग्रह गर्दै उनले आगामि दिनमा स्थानीय स्तरका दक्ष प्रशिक्षकहरुलाई उचित स्थान दिने बताएका थिए । उद्योग वाणिज्य संघसंगको सहकार्यको जग बसाउन आफू कटिवद्ध रहेको मेयर पन्तले बताए ।