| शुक्रबार, बैशाख ७, २०८१

मुस्कानका फोटो लिएर सगरमाथा आरोहण यात्रामा गोरखाकी पूर्णिमा

दरौँदी ः पत्रकारिताकै क्रममा सन् २०१६ मा उनी थाइल्याण्डको एउटा कार्यक्रममा पुगेकी थिइन् ।
त्यो कार्यक्रममा उनी जस्तै धेरै देशका फोटो पत्रकारहरु सहभागी थिए । त्यहाँ उनले सिंगापुरका एक फोटो पत्रकार भेटिन् । सिंगापुरका पत्ररकार हिमाल र सगरमाथाबारेको सूचनाका भोका रैछन् । ‘तिमी त नेपालको फोटो पत्रकार हिमालको फोटो धेरै छन् होला ? कुन कुन हिमालको फोटो छ ? कुन कुन हिमाल आरोहण गर्याे ? कस्तो लाग्दो रहेछ हिमाल आरोहण गर्दा ?’ सिंगापुरका पत्रकारले प्रश्न सोधिहाले। त्यहाँ उनले कुनै प्रश्नको वस्तुपरक जवाफ दिन सकिनन् । दिउन् पनि कसरी उनले हिउँ नै टेकेकी थिइनन् । हिमालको कुरा परै जावस् ।
‘मैले अहिलेसम्म कुनै हिमाल आरोहण गरेको छैन’, उनले सुनाइन् । त्यतिबेला उनलाई एक किसिमको लज्जा बोध भयो । मनमा कुरा खेल्यो हिमालको देशमा हुर्किएर हिमाल आरोहण नगर्ने ! सगरमाथाको देशमा फोटो पत्रकारिता गरेर एउटै हिमालको फोटो नखिच्ने ? सिंगापुरे पत्रकारको प्रश्नभन्दा उनलाई आफ्नै मनका प्रश्नले बढी पोल्यो ।
‘मलाई आफू नेपाली भएर कुनै पनि हिमाल आरोहण नगरेकोमा पश्चाताप लाग्यो’, त्यो घटना सम्झँदै उनले सुनाइन्,’त्यसपछि नै हो मैले हिमालबारे चासो राख्न थालेको। हिमालतिर लेन्स सोझ्याउन थालेको ।’
‘विदेशीहरु नेपालबारे यति धेरै ज्ञान राख्छन् । लाखौं खर्च गरेर हिमाल आरोहण गर्न आउँछन, पूर्णिमा भन्छिन् , ‘तर हामी नेपाली सगरमाथा हाम्रो भनेर गर्व गर्छौं तर आफ्ना देशका हिमालबारे अनविज्ञ छौं ।’
मे २९ मा पर्ने एभरेस्ट डेमा आयोजना हुने एभरेस्ट म्याराथुनका आयोजकले छानिएका मिडिया कर्मीलाई क्याम्पसम्म लाने गर्थे । २०१७ मा त्यो अवसर पर्णिमालाई जुर्याे । त्यो बेला उनले महसुस गरिन् हिउ के हो ? हिमाल के हो? उनलाई हिमालले यसरी लोभ्याएछ । शरीर काठमाडौं फर्किए पनि मन उतै रह्यो ।
त्यसपछि नै हो उनले सगरमाथा आरोहण गर्ने लक्ष बनाएको। त्यो मिति थियो सन् २०१७ सेप्टेम्बर ४। सगरमाथा आरोहण गर्ने अनुमति पाउन ६ हजार मिटरको एउटा हिमाल आरोहणको अनुभव आवश्यक पर्छ। पूर्णिमाले गोरखाकै मनासलु हिमाल रोजिन् । मनासलुे ८ हजार एक सय ६३ मिटरको यो हिमालका हाइ रेजुलुसनका तस्विर खिच्ने उनको अर्को इच्छा थियो। तर उनी हिमाल आरोहणमा अपनाउनु पर्ने सावधानीबारे नयाँ थिइन् । अहिले पूर्णिमा सम्झिन्छिन, ‘हिमाल आरोहणको पहिलो दिन मलाई हिमालमा लगाउने जुत्ता लगाउन पनि आएन ।’
‘यो काम सहज थिएन् । हिमाल आरोहणको पहिलो दिन मलाई हिमालमा लगाउनले जुत्ता पनि लगाउँन आएन,’ उनले भनिन, ‘ मेरो शेर्पा गाइडहरु मलाई देखेर हाँसे पनि । तर मैले हिम्मत हारिनँ ।’ २२ दिनमा मनासलु हिमाल आरोहण गरेर फर्किदा शेर्पा गाइडहरु छक्क परेको उनी अहिले सम्झिन्छिन् । त्यो २६ सेप्टेम्बर २०१७ को दिन थियो । कहिलै हिमाल नदेखेको मान्छेले पहिलो पटकमा नै सफलतापूर्वक ८ हजार मिटरको हिमाल आरोहण गर्नु सामान्य विषय थिएन । यो सफलताले पूर्णिमालाई थप ऊर्जा मिल्यो । ८ हजार एक सय ६३ मिटर अग्लो विश्वकै आठौं उच्च मनासलु हिमालको आरोहण गरिसकेपछि पूर्णिमालाई ८ हजार ८ सयर ४८ मिटरको सगरमाथा आरोहण गर्न त्यति डर लागेको छैन् जति सगरमाथा आरोहण गर्दा ऋण लाग्छ भन्ने उनलाई चिन्ता छ। मनासलु हिमाल आरोहण गर्दा उनले १२ लाख खर्च गरेकि थिइन्। त्यतिबेलाको तीन लाख रुपैयाँ अझै ऋण बाँकी तिर्न बाँकी छ । आफ्नो आरोहणसँगै सगरमाथामा फोटो प्रदर्शनीको योजनामा छिन् ।
विगत पाँच वर्षदेखि खिचेका निश्चल हाँसो थिमका तस्विरहरु उनले विश्वको सर्वोच्च शिखरमा प्रदर्शनी गर्ने तयारी गरेकी हुन् । ‘तराई, पहाड र हिमालका मुस्कान थिमका २५ तस्विरको प्रदर्शनी गर्ने तयारी गरिरहेकी छु’, उनी भन्छिन, ‘समग्र नेपालको प्रतिनिधित्व गर्ने तस्विरहरु प्रदर्शनीमा हुनेछन् ।’ उनी प्रदर्शनी मे २५ देखि सुरु हुँदैछ ।
सगरमाथा आरोहण गर्न आउनेका लागि मन्द मुस्कानसहितको हाँसोले थप ऊर्जा प्रदान गर्ने आशा उनको छ । यो फोटो प्रदर्शनीको अर्को उद्देश्य महिलालाई हुने पाठेघरसम्बन्धी क्यान्सरबारे चेतना फैलाउने रहेको उनी बताउँछिन् । खर्च जुटिसक्यो त ? हाल कारोबार दैनिकसँग आवद्ध पूर्णिमा भन्छिन, ‘सगरमाथा पैसाले आरोहण गर्ने हैन् । आत्मविश्वास र दृढताले आरोहण गर्ने हो । मसँग पैसा छैन । ऋण लिएरै पनि आरोहण रोक्दिनँ ।’
साभार नेपाल खबरबाट

प्रतिक्रिया दिनुहोस्