
किन भारत जाँदैछन् बाबुराम ?
काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार भारत जाँदैछन्। अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न भट्टराई भारत जान लागेका हुन्। भट्टराईले पार्टीको लुम्बिनी विस्तारित बैठकका निर्णयहरुको बारेमा प्रशिक्षण दिने कार्यक्रम छ।
एक साता लामो भारत बसाइमा उनले भारतमा रहेका नेपालीहरुको समस्या र समाधानका विषयमा नेपाली समुदायसँग छलफल गर्नेछन्। भट्टराईले भारतका मुख्य–मुख्य सहर दिल्ली, मुम्बई, तमिलनाडूलगायतस्थानमा रहेका नेपाली समुदायसँग परामर्श गर्ने कार्यक्रम रहेको नयाँ शक्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भट्टराईले भारतका महत्त्वपूर्ण ऐतिहासिक स्थानहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। उनको साथमा पार्टीको विदेश विभाग इन्चार्ज हिसिला यमी र पिता भोजप्रसाद पनि रहने छन्। संयोजक भट्टराई वैशाख ८ गते काठमाडौं फर्किनेछन्।