| सोमवार, अशोज ८, २०८०

मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै, ध्रुवे हात्ती

धुर्वे हात्तीको लभ पर्यो !

मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको धु्रवे हात्तीले देखाएको छ ।

पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट आसपासमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी, सेना त्रसित बनेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट ‘टाइगर टप्स’ जाने बाटोमा रहेको सुखीभार पोष्टमा निकुञ्ज सुरक्षार्थ राखिएको पोथी हात्ती ‘तीर्थमान कली’लाई ध्रुवेले आइतबार बिहान २ः४० बजे साङ्लो चुडाएर जंगलतर्फ लगेको छ ।

सोही पोष्टमा हात्ती हेर्दै आउनुभएका रामकुमार चौधरीका अनुसार ध्रुवे हात्तीले तीर्थमान कलीसँगै बाँधिएको भाले हात्ती ‘पारस गज’ लाई दाह्राले हानेर सामान्य घाइते बनाएको छ । चौधरीले भने, “राति ध्रुवे आएर पारस गजलाई हान्यो, तीर्थमान कलीको साङ्लो चुडाएर जंगलतर्फ लग्यो ।” पोष्ट नजिकै तीर्थमान कलीसँगै ध्रुवे रहेको उनले बताए ।

दुई दिनअघि रासन कोठाको झ्याल पनि फोरेको छ । एक महिना अघिदेखि सो क्षेत्रमा ध्रुवे हात्ती रहेको उनले बताए । चौधरीका अनुसार सबैलाई हात्तीले त्रसित बनाएको छ ।
सोही क्षेत्रमा पर्यटक घुमाउन सौराहाबाट शनिबार पुगेका जीपका चालक गौरीराम विश्वकर्मालाई ध्रुवे हात्तीले लखेटेको थियो । उनले भने “हामीलाई ध्रुवेले लखेटेपछि भागेर बच्यौँ । बाटोको छेउछेउ गाडीको पिछा गरेको थियो ।”

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले प्राविधिक, गाइड, हात्तीसारका कर्मचारी सबैले अहिले देखिएको हात्ती ध्रुवे भएको जनाएको बताए । गत साता शुक्रनगर क्षेत्रको मानव वस्तीमा पसेपछि लखेटेर जंगलतर्फ धपाएको उनले बताए । ध्रुवे हात्तीले यतिबेला खासै बितण्डा नमच्चाएको भन्दै उनले सामान्य क्षतिबाहेक केही नगरेको बताउनुभयो । उनले भने “अहिले सज्जन भएर आएछ ।”

सोही हात्तीले २०६६ देखि २०६९ सालसम्म नेपाल र भारतमा गरेर १५ जनाको ज्यान लिएको निकुञ्जका अधिकारीले जनाएका छन् । २०६६ सालमा एक जना, २०६७ सालमा तीन, २०६८ सालमा एक र २०६९ सालमा १० जना सर्वसाधारणको ज्यान लिएको थियो । जसमध्ये चितवनको माडीमा छ, मेघौलीमा दुई, कसरामा एक, बाराको रुपही र कोवीमा चार तथा भारतमा दुई जनाको ज्यान लिएको बताइएको छ । ध्रुवेले ५० भन्दा बढी घर नष्ट गरेको थियो ।
सोही हात्तीले टाइगर टप्स होटलका शमशेरगज हात्ती मारेको थियो । २०६९ सालमा सो हात्तीलाई निकुञ्जमा गोली प्रहार गरिएको भए पनि नमरेको निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताए ।

एनका अनुसार उमेर पुगेर उन्मत्त हुँदै गएपछि समूहबाट छुटेर पोथी हात्ती खोज्ने क्रममा ध्रुवे चितवन राष्ट्रिय निकुञ्ज आएको हो । जुन ठाउँमा ध्रुवे थियो सो क्षेत्रमा रहेका अन्य भाले हात्तीका कारण पोथी नपाएपछि ध्रुवे मात्तिएको बेला चितवन राष्ट्रिय निकुञ्ज आउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्