
तीन वर्ष वित्दा पनि भूकम्पपीडितको बास टहरामै
बिनासकारी भूकम्प गएको आज तीन वर्ष पूरा भएको छ। १२ वैशाख २०७२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परि नौं हजार भन्दा धेरैले ज्यान गुमाएका थिए भने हजारौं घाइते र अंगभंग भएका थिए।
भूकम्पले सात लाख भन्दा धेरै निजी आबास र सार्वजनिक भौतिक संरचना ध्वस्त पारेको थियो। भूकम्पले ध्वस्त पारेको निजी आवास र सांस्कृतिक सम्पदाको अझै पुनर्निमाण हुन सकेको छैन।
तीन वर्ष वित्दा पनि सरकारले २० प्रतिशत निजी आवास पनि पुनर्निमाण गर्न सकेको छैन। झन्झटिलो बैंकिङ प्रक्रियाले बास्तविक पीडित सरकारले दिने भनेको सहुलियत ऋणबाट बञ्चित हुँदै आएका छन्।
सात लाख ६७ हजार तीन सय पाँच निजी आवास पुनर्निर्माण गर्नुपर्नेमा अहिलेसम्म जम्मा एक लाख ४१ हजार पाँच सय २४ घर मात्र निर्माण भएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार अझै ६ लाख २६ हजार एक सय ८१ घर पुनर्निर्माण गर्न बाँकी छ। भूकम्पले भत्काएका शैक्षिक संस्थाको पुनर्निर्माणको गति पनि एकदमै धिमा छ। तीन वर्षमा आधा शैक्षिक संस्था पनि पुनर्निर्माण भएका छैनन्।
सात हजार पाँच सय ५३ विद्यालय बनाउनु पर्नेमा अहिलेसम्म करिब तीन हजार विद्यालय मात्र बनेका प्राधिकरणले जनाएको छ।
अहिलेसम्म पुनर्निर्माणमा एक खर्ब १९ अर्ब रुपैयाँ खर्च भएको छ। अझै एक खर्ब ६० अर्ब रुपैयाँ पुनर्निर्माणमा आवश्यक पर्ने प्राधिकरणले जनाएको छ। अहिलेसम्म भएको खर्चमध्ये ठूलो हिस्सा नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च भएको छ।
पुनर्निर्माणको लागि दाताले दिएको प्रतिबद्धता, सम्झौता तथा खर्च भइसकेको रकमबाहेक थप १ खर्ब ६० अर्ब आवश्यक पर्ने प्राधिकरणका सिइओ युवराज भुसालले बताए।
पुनर्निर्माणको लागि दाताले प्रतिवद्धता जनाएको दुई खर्ब ८३ अर्ब रुपैयाँ अझै प्राप्त भएको छैन। अहिलेसम्म दाताले पुनर्निर्माणको लागि ६० अर्ब रुपैयाँ मात्र दिएका छन्।
सरकारले भूकम्प पीडितलाई निजी आवास पुनर्निर्माण गर्न तीन लाख रुपैयाँ अनुदान दिने घोषण गरेको छ। तर बहुसंख्यक पीडितले सरकारी अनुदान पाउन सकेका छैनन्। पीडित परिवार अझै टहरामै जीवन यापन गरिरहेका छन्। नेपालखबर