| बुधबार, मंसिर १३, २०८०

मोदी

आज मोदी नेपाल आउँदै

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणका लागि तेस्रोपटक नेपाल आउँदै छन् । उनको यात्रा यसपटक सीधा काठमाडौं नभई प्रदेश २ को राजधानी जनकपुरबाट शुक्रबार सुरु हुँदै छ ।

मोदीको भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुद र सबल बनाउने सरकारले बताएको छ । १७ वर्षदेखि भारतीय प्रधानमन्त्रीको नेपालमा भ्रमण हुन नसकेका बेला २०७१ साउनमा मोदीले पहिलोपटक भ्रमण गरेका थिए । उनको पहिलो भ्रमणलाई नेपाल–भारत सम्बन्धको कोसेढुंगा मानिएको थियो । २०७१ मंसिरमा दोस्रोपल्ट मोदी नेपाल आएका बेला जनकपुर र मुक्तिनाथ जाने तय भए पनि पछि सुरक्षाका कारण रद्द गरिएको थियो । त्यसपछि मोदीले राजधानीस्थित ट्रमा सेन्टरमा सम्बोधन गर्दै छिट्टै जनकपुर, लुम्बिनी र मुक्तिनाथ जाने बताएका थिए । यसपटक मुक्तिनाथसमेत जान लागेका मोदीको भ्रमण राजकीयसँगै धार्मिक पनि हो । उनको यो भ्रमणमा राजनीतिक सन्देश र मधेसप्रतिको सदासयता पनि उत्तिकै रहनेछ । जनकपुरबाट भ्रमण थाल्नुको अर्थ सम्भवत: जहाँबाट आफ्नो विश्वास गुम्यो, त्यहींबाट उतार्न खोज्नु पनि हो ।

२०७१ मा सार्क शिखर सम्मेलनमा सहभागी हुन दोस्रोपटक नेपाल आएयताका तीन वर्षमा मोदीले समकक्षीका रूपमा केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई दिल्लीमा स्वागत गरिसकेका छन् । भूकम्पको पीडामा परेका नेपालीमाथि संविधानको विषयमा केही असहमति राख्दै ०७२ को असोजपछि भारतले अघोषित नाकाबन्दी लगाएपछि जनस्तरमा बिग्रेको सम्बन्धलाई पुरानै अवस्थामा फर्काउने भारतीय प्रयत्नका रूपमा पनि यसपल्टको भ्रमणलाई हेरिएको छ ।

यो भ्रमणमा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणमा भएको सहमतिलाई सम्झौतामा परिणत गरिने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए । ‘हाम्रो प्रयत्न दिल्लीमा भएका सहमतिलाई सम्झौतामा परिणत गर्ने नै हुन्छ । त्यसमा काम भइरहेको छ,’ ज्ञवालीले कान्तिपुरसँग भने, ‘भारतीय सहयोगमा निर्माण हुने भनिएको रेलमार्ग, जलमार्ग (इनल्यान्ड वाटर वे) र कृषिमा सहकार्यका विषयमा सम्झौताको अन्तिम तयारी भइरहेको छ । यस अलावा भारतले दिने कुनै सहयोग प्याकेजबारे भने अहिले जानकारी छैन । कुनै सरप्राइज घोषणा भए थाहा छैन ।’

नेपाल आउने अघिल्लो दिन टवीट गर्दै मोदीले आफ्नो भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको प्रस्ट हुने बताएका छन् । ‘द्विपक्षीय सहयोगलाई अझ व्यापक बनाउन प्रधानमन्त्री ओलीसँग विस्तृत कुराकानी गर्नेछु,’ उनले भनेका छन् । नयाँ संविधान जारी भएपछि नेपाल लोकतन्त्रलाई अझ बलियो बनाउने र आर्थिक विकास हासिल गर्ने नयाँ चरणमा प्रवेश गरेको भन्दै मोदीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणामा भारत दृढ सहयोगी हुने स्पष्ट पारेका छन् ।

पहिलो दिन, वैशाख २८
-पटनाबाट जनकपुर आउने (बिहान ९:३०–१०:००)
-जानकी मन्दिरमा पूजाअर्चना, प्रधानमन्त्री ओलीसँग संयुक्त रुपमा रामायण सर्किट उद्घाटन
-बाह्रबिघामा नागरिक अभिनन्दन
-१:३० भित्र काठमाडौं आइपुग्ने
-एयरपोर्टबाट हयात होटल
-टुँडिखेलमा गार्डअफ अनर
-उपराष्ट्रपति र राष्ट्रपतिसँग शिष्टाचार भेट
-द्वारिका होटलमा प्रधानमन्त्रीसँग एक्लाएक्लै र डेलिगेसन स्तरमा दुईपक्षीय छलफल
-स्विच थिचेर अरूण तेस्रोको शिलान्यास, संयुक्त वक्तव्य जारी
-प्रधानमन्त्री ओलीका तर्फबाट रात्रिभोज

दोस्रो दिन, वैशाख २९
-बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुक्तिनाथ प्रस्थान
-मुक्तिनाथमा पूजापछि जो मसोम प्रस्थान
-जोमसोमबाट फेरि काठमाडौं
-पशुपतिनाथ मन्दिरमा पूजाअर्चना
-द्वारिकाज होटलमा राजनीतिक भेटघाट
-भारतीय राजदूतको दिवाभोजमा सहभागी
-भोजपछि राजनीतिक भेटघाट
-र ाष्ट्रिय सभागृहमा काठमाडौं महानगरका तर्फबाट नागरिक अभिनन्दन
-दिउँसो ४ बजे भारतीय सेनाको विशेष विमानबाट नयाँदिल्ली फिर्ती

प्रतिक्रिया दिनुहोस्