नाकाबन्दीका सूत्रधार नेपालमा
भारतीय प्रधानमन्त्री नरेन्द्र दमोदर मोदी सवार एटिआर ७२–६०० विमान शुक्रबार बिहान १०ः४३ बजे जनकपुर विमानस्थलमा अवतरण गर्दा एक व्यक्ति सबैभन्दा पहिला बाहिर निस्किए।
पछाडिको ढोकाबाट पहिलो पंक्तिमा उत्रिएका उनी चनाखो भंगिमामा देखिएका थिए। प्रधानमन्त्रीको उच्च स्ततरीय भ्रमण टोली सदस्यको रुपमा रहेका उनी त्यसपछि भारतीय प्रतिनिधिमण्डलसँगै देखिएनन्। मोदी नजिक पनि देखिएनन्।
सबैभन्दा अन्तिममा मोदी विमानबाट ओर्लिएर अघि बढिसकेपछि सुरक्षा अधिकारीहरु आ–आफ्नै तरिकाले विमानस्थलबाट बाहिरिए। तर उनी त्यहाँ पनि थिएनन्।
को हुन् त उनी ? उनी हुन् भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल। अर्थात २०७२ को भारतीय नाकाबन्दीका एक मुख्य सूत्रधार। जननिर्वाचित संविधान सभाले संविधान जारी गरेकाेमा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि करिब ६ महिना लामो नाकाबन्दी गरेकाे थियाे। साे नाकाबन्दीका कारण नेपालमा अाैषाधिदेखि दैनिक उपभाेग्य वस्तु समेत अभाव भएकाे थियाे। नेपालकाे वर्तमान संविधानका ७ बुँदामा संशाेधन गर्न दवाब दिँदै नाकाबन्दी गरे पनि भारतले अाधिकारिक रूपमा साे विषय लुकाउँदै अाएकाे छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको राजकीय भ्रमणमा महत्वपूर्ण पाहुनाको रुपमा सुरक्षा सल्लाहकार डोभल नेपाल आएका हुन्। जल,स्थल र वायु सुरक्षाका विज्ञ डोभल तथा तत्कालीन विदेशसचिव एस जयशंकरको विश्लेषणमा २०७२ असोजमा भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगाएको थियो।