चीन र भरतपुर महानगरबीच सम्बन्ध विस्तार
चीनको हेनान प्रान्तमा रहेका सात ठूला शहरमध्ये एक कुन्घाई र नेपालको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध बिस्तार, आपसी लगानी, साँस्कृतिक, सामाजिक र आर्थिक सहकार्य सम्बन्धी छलफल भएको छ । चीन भ्रमणमा रहेको भरतपुर महानगरपालिकाको टोली कुन्धाई पुगेको अवसरमा आयोजित शिष्टाचार कार्यक्रममा दुईपक्षीय सहयोग आदानप्रदान, लगानीका अवसर र सम्भावनाबारे छलफल भएको हो । भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख रेनु दाहालले चीनको चौतर्फी विकासको रफ्तारमा कुन्घाई शहरले प्रतिबद्ध भएर विकाससँगै सरसफाईको नमुना प्रस्तुत गरेको बताइन् ।
भरतपुर महानगर प्रमुख दाहालले भरतपुर महानगर पनि चिनियाँ मोडलमै तीव्र विकास गर्न आतुर रहेको बताउँदै चिनियाँ सरकार र चिनियाँ नागरिकलाई भरतपुरमा लगानी गर्न आग्रह गरिन् । दाहालले लगानीकर्तालाई भरतपुर महानगरपालिकाले विशेष सहुलियत र सुरक्षाको वातावरण निर्माण गर्ने भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरिन् ।