आर्थिक बिकास र समृद्धिमा सहयो गर्छु ः मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकास र समृद्धिका लागि भारत र नेपालको चाहना एकअर्काको परिपूरक भएको बताएका छन्। शुक्रबार साँझ दुई देशका प्रधानमन्त्रीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले आर्थिक विकास र समृद्धिका लागि प्रधानमन्त्री केपी ओलीको अभियानमा सवा सय करोड भारतीय नागरिकको साथ र समर्थन रहेको बताए।
राजधानीको बत्तीसपुतलीस्थित एक होटेलमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने, ‘भारतका लागि ‘सबका साथ सबका विकास’को नारा र ओलीजीका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा एकअर्काका पूरक हुन्।’ नेपालको समावेशी र आर्थिक विकासका लागि भारतीयको साथ एवं समर्थन रहेको मोदीको प्रतिबद्धता छ। अघिल्लो महिना भारतमा भएको प्रधानमन्त्री ओलीको भ्रमण र आफ्नो भ्रमणका क्रममा दुई देशको विकासका लागि गम्भीर छलफल भएको उनले बताए।
नेपालमा केन्द्र, प्रदेश र स्थानीय तहको चुनाव सम्पन्न भएको ऐतिहासिक समयमा आफूले नेपाल भ्रमण गरेको उल्लेख गर्दै मोदीले भने, ‘नेपालको इतिहासमा यो समयलाई स्वर्णाक्षरमा लेखिनेछ।’
प्रधानमन्त्री ओलीको सरकार र अभियानलाई साथ र समर्थन रहने कुरा पटकपटक दोहो¥याएका मोदीले भारत र नेपालबीचको सम्बन्ध दुई सरकारभन्दा निकै उचाइको रहेको पनि बताए। आर्थिक विकास र सामाजिक परिवर्तनका लागि ओली नेतृत्वको सरकारले निकै नै आशा र भरोसा जगाएको उनको भनाइ छ। ‘अखण्ड, समृद्ध र सशक्त नेपालको आकांक्षामा भारतको पूर्ण समर्थन छ’, उनले भने।