| बिहिबार, मंसिर ११, २०७७

वैँकिङ व्यवस्थाले वृद्धभत्ता लिने वृद्धवृद्धालाई सास्ती

शहिद लखन गाउँपालिका १ बक्राङकी ८१ बर्षीया देवीमाया गुरुङ वृत्तभत्ता थाप्न चार घण्टादेखि सदरमुकामको एक वैँकको आँगनमा पर्खिरहिन् । कोरोनाको जोखिमबाट बच्न उनले मुखमा मास्क त लगाएकी थिइन्, तर उनीजस्तै आँगनभरि पसारो परेका वृद्धवृद्धासँग भौतिक दुरी कायम गर्न सकेकी थिइनन् ।


झण्डै ३० किलोमिटर कच्ची बाटो बोलेरो जीपमा कोचाकोच गरेर हल्लाउँदै, ठोक्काउँदै ल्याउँदा वृद्ध शरीर थकित बनेको थियो । त्यसमाथि पनि सदरमुकामको वैँकको आँगनमा लामो समयसम्म थेच्चिएर बस्नुपर्दा असाध्यै दुख महशुस भएको उनी बताउँछिन् । ‘यस्तो दुख त कहिल्यै भएको थिएन’, गुरुङ भन्छिन्, ‘गाडीले हल्लाएर र ठोक्काएर उस्तै, यहाँ सिमेण्टको भुइँमा कुरेको कुरै गर्नुपरेको छ ।’


उनी मात्र होइन, उनीजस्तै १४ जना वृद्धवृद्धा बुधबार दिनभर ग्लोबल आइएमई वैँकको आँगनमा पसारो परेका थिए । ‘पहिले पहिले घरघरमै लौ आमा लिनोस् तपाईको भत्ता भन्दै बाँड्न आउँथे । बोलीबचन पनि मिठो हुन्थ्यो । पैसा पाउँदा झन कति रमाइलो हुन्थ्यो । तर अहिले त भत्ता दिएका कि दुख दिएका हुन् ?’, अर्की वृद्धा पवित्रा राना मगर भन्छिन् ।


वडा सदस्य दुर्गामाया गुरुङले बोलेरो जीपमा चारखेप गरी गाउँका १४ जना वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता लिनका लागि गोरखा बजार लिएर आएकी थिइन् । ‘पहिले पहिले त हामीले गाउँमै घरघरमा गएर दिन्थ्यौँ । त्यही सजिलो थियो’, वडा सदस्य गुरुङले भनिन्, ‘अहिले अनिबार्य वैँकमा खाता खोलेर पैसा राखिदिने भनेपछि बूढाबूढीलाई पनि सकस, हामीलाई पनि झञ्झट भएको छ ।’

पन्द्र, पन्द्रसय रुपैयाँ भाडा तिरेर भत्ता लिन आउनु परेकोमा उनले दुख व्यक्त गरिन् । ‘यत्रो भाडा तिरेर बूढाबूढी आएका छन् । अझै वैँकले तीनजनाको त खाता खोल्न मिल्दैन भनेको छ’, उनले भनिन्, ‘बरु घरदैलामै गएर भत्ता बाँड्नु ठिक थियो ।’


सबै पालिकाहरुले वैँकका खाता खोली सामाजिक सुरक्षा भत्ता खातामा राख्न थालेपछि सबै ठाउँका वृद्धवृद्धाले सास्ती पाएका छन् ।

गाउँपालिकाका प्रमुख रमेशबाबु थापा भने पहिलो पटक भएर सकस भएको तर्क गर्छन् । ‘बानी परेपछि त सहज हुन्छ । अहिले पहिलो पटक भएर दुख जस्तो देखिएको हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्