| बुधबार, फाल्गुन १९, २०७७

प्रधानमन्त्रीले सफ्ट ‘कु’ गरेको भन्दै केन्द्रीय सदस्य परित्याग


नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सफ्ट कु’ गरेको ठहर गर्दै उनीद्वारा मनोनित केन्द्रीय सदस्य यादव बस्नेतले केन्द्रीय सदस्यको पद त्याग गरेका छन् ।


संविधान बिखण्डनपछि ओलीले मनोनित गरेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य बस्नेतले आफू सो समूहको तर्फबाट केन्द्रीय सदस्य नरहेको बताएका छन् । आइतबार गोरखामा पत्रकार सम्मेलन गरी बस्नेतले असंवैधानिक कदम चालेर केन्द्रीय सदस्य थप गरेको दाबी गर्दै आफू सो पदमा नरहने घोषणा गरेका हुन् ।


‘हाम्रो पार्टीबाट प्रधानमन्त्री पदमा रहनु भएका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको सांसद संख्या दुई तिहाइको नजिक रहेको छँदाखाँदाको संसद बिघटन गर्नुभयो । यो कदमको म सुरुदेखि नै विपक्षमा छु र बिरोध पनि गरिरहेको छु’, उनले भने, ‘वर्तमान संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले संसद बिघटन गर्नुभएको छ । यसको संविधानविद्, राजनीतिज्ञ आम सर्वसाधारणले विरोध गरिरहेका छन् । म पनि यही पक्षमा छु । अर्थात पार्टीको संस्थापन पक्ष अथवा भनुँ पार्टीको बहुमतको पक्षले अवलम्बन गरेको जनताको बहुदलीय जनवाद विचारको पक्षमा छु । नेकपाको केन्द्रीय सदस्य होइन, जिल्ला सदस्य एवं कार्यालय सदस्य पदमा मात्र रहेको जानकारी गराउँछु ।’


बस्नेतले आफू नेता बामदेव गौतमले नेतृत्व गरेको पार्टी एकताको अभियानमा होमिने पनि घोषणा गरेका छन् । ‘अहिले पार्टीभित्र अत्यन्तै निकृष्ट ढंगले गाली गलौज गर्ने काम भइरहेको छ । यो सन्दर्भमा पार्टी एकता पुन सम्भव छ भन्ने सोचेर एकता अभियानमा होमिन निर्णय लिएको छु’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्