| शुक्रबार, साउन १५, २०७८

काङ्ग्रेस गोरखाले पार्टी कार्यालय भबन आइशोलेसन बनाउन दिने

नेपाली काङ्ग्रेस गोरखाले सदरमुकामस्थित पार्टी कार्यालयको भबन कोभिड बिरामीलाई उपचार गर्न आइशोलेसन बनाउन दिने भएको छ ।

ठाउँ अभावका कारण कोरोना संक्रमितलाई अस्पतालको आँगनमा राखेर उपचार गर्नुपर्ने अवस्था भएकाले गोरखा नगरपालिका ६ तीनधारेस्थित बिपी गणेशमान स्मृति भबन आइशोलेसनको रुपमा प्रयोग गर्न दिने जिल्ला सभापति हरिबहादुर घलेले बताए ।
‘जनताले उपचार नपाएर मर्ने अवस्था आउनु भएन’ उनले भने ‘जिल्लामा अन्यत्र ठाउँ नपाएको भन्ने सुनेपछि मैले काङ्ग्रेस पार्टी कार्यालय आइसोलेशन बनाउन दिने निर्णय गरेको हो ।’ सो कार्यालयमा रहेको भबनको दुईवटा हलमा आईशोलेसन बनाउन सकिने उनले बताए ।

काङ्ग्रेसको आइशोलेसन बनाउन दिने भनिएको पार्टी कार्यालयको हलको निरीक्षण भईसकेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
गोरखा नगरपालिका उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रजिअ पौडेल, सुरक्षा निकायका प्रमुख, गोरखा अस्पतालका डाक्टर सहितको टोलीले काङ्ग्रेस पार्टी कार्यालय भबनको स्थलगत अवलोकन गरिसकेको छ । चिकित्सकले उक्त ठाउँ आइशोलेसन बनाउन उपयुक्त रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्