| शुक्रबार, माघ ४, २०८१

हुलाकी राजमार्ग निर्माणको १२ वर्ष : भारतीय कम्पनी झारा टारेर भागे, सडक भद्रगोल

तराई-मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्ग निर्माण शुरु भएको १२ वर्ष बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । २०६२÷६३ को राजनीतिक परिवर्तनलगत्तै निर्माण थालिएको राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा अघि बढेको छ ।

सप्तरीदेखि झापासम्म २ सय २५ किलोमिटर सडकको अधिकांश खण्डमा पैदल यात्रा गर्नसमेत कठिन छ । कतिपय स्थानमा कच्ची ट्र्याक पनि ठूला खाल्डाका कारण समस्याग्रस्त छन् । निर्माणाधीन सडक पनि अलपत्र अवस्थामा रहेको छ । सप्तरीदेखि भद्रपुरसम्म चार पाङ्ग्रे सवारी चल्ने अवस्था छैन । इटहरीस्थित हुलाकी राजमार्ग आयोजनाका प्रमुख शैलेन्द्रमणि त्रिपाठीले चालु आर्थिक वर्षका लागि ३८ करोड रुपैयाँ निकासा भएको जानकारी दिए ।

उक्त बजेटमा सप्तरीमा दुई करोडमाथिका सानाठूला गरी १२ पुल निर्माणाधीन छन् । पहिलो चरणमै ३३ प्रतिशत काम अलपत्र परेकोले बाँकी ६६ प्रतिशत कामबारे थप अन्यौल छ । सुनसरीको केसलिया–चिमडी–हरिनगरा–लौकहीसम्मको २४ किलोमिटर सडक १ अर्ब रुपैयाँ लागतमा शर्मा बिकोइ कन्स्ट्रक्सन काठमाडौंले जिम्मा लिएको छ । त्यो काम पनि रोकिएको छ । कामले गति लिन सकेको छैन ।

 

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको अध्यक्ष रहेको समयमा विजयकुमार गच्छदारले सो सडकको शिलान्यास गरेको पनि ३ वर्ष पुगिसकेको छ । तर अहिलेसम्म पीच हुन नसकेको स्थानीयको भनाइ छ । अहिले पनि गच्छदारले सोही क्षेत्रबाट चुनाव जितेका छन् ।

मोरङको कानेपोखरी–रंगेली सहायक मार्ग पनि कालोपत्रेका लागि ठेक्का भइसकेको छ । उक्त सडक खण्डमा ६६ वटा कल्भर्ट निर्माण गरी २४ महिनामा काम सक्ने गरी काम थालिएको त्रिपाठीले जानकारी दिए ।

झापासंग जोढ्ने रतुवामाई पुल निर्माण भएको १० वर्ष बितिसकेको छ । तर अहिलेसम्म तटबन्ध निर्माणको काम पूरा नहुँदा कुनै सवारी चलाउने अवस्था छैन । पुल प्रयोगविहीन अवस्थामा पुगेको छ । खोलालमा तटबन्ध नबनाईँदा खेला एकातिर बगेको छ भने पुल अर्कैतिर छ ।

पूर्वपश्चिम राजमार्गबाट २० देखि ३० किलोमिटर दक्षिणतर्फ समानान्तररूपमा रहेको सडक नै हुलाकी राजमार्ग हो । तर यो राजमार्ग निर्माणको काममा ठेकेदार कम्पनीको मात्र लापरबाही छैन, हुलाकी सडक निर्माण आयोजनाको पनि लापरबाही देखिएको छ ।

पुरानो कल्भर्ट भत्काइयो

चार वर्षअघि भारतीय कम्पनीले निर्माण गरेको कल्भर्टहरू भत्काएर नयाँ निर्माण शुरु गरिएको छ । २५ किलोमिटर सडक निर्माणको जिम्मा जीभीआर इन्फ्राप्रोजेक्ट लिमिटेड चेन्नइले पाएको थियो । सन् २०११ मा दुई वर्षभित्र काम सक्नेगरी ठेक्का लिएको कम्पनीले करीब १८ महिना काम गरेको थियो ।

१८ महिना काम गरेर कम्पनी भागेको चार वर्षपछि सडक निर्माणको जिम्मा नेपालका लामा, डाँफे र द कञ्चनजंघा कन्ट्रक्सन (जेभी)लाई दिइएको छ । गत असारमा काम गर्ने जिम्मा पाएको कम्पनीले यसअघि भारतीय कम्पनीले बनाएका कल्भर्टहरू भत्काएर नयाँ कल्भर्ट बनाउन शुरु गरेको छ ।

 

दुई वर्षभित्र सक्नेगरी ६३ करोडमा ठेक्का पाएको कम्पनीले पुल, कल्भर्ट निर्माण गरिरहेको छ । भारतीय ठेकेदार कम्पनीले निर्माण गरेका कल्भर्ट काम नलागेपछि नेपाली ठेकेदारले नयाँ कल्भर्टको बनाएका हुन् । हुलाकी सडक आयोजनाका अनुसार २५ किलोमिटर सडकमा ६० देखि ६२ वटा कल्भर्टहरू निर्माण गर्नुपर्ने छ ।

सरकारले ६ वर्षअघि कानेपोखरी–रंगेली सडक खण्डमा पर्ने उपभोक्ताको जग्गा अधिग्रहणबापत ५ करोड ६ लाख ५६ हजार १६ रुपैयाँ मुआब्जा वितरण गरेको थियो ।

सरकारले करोडौं रुपैयाँ मुआब्जा दिएर निर्माण क्षेत्र खाली गराए पनि ठेकेदारले काम छाडेर भागेपछि सर्वसाधारण वर्षाैदेखि धुलो खाएर बस्न बाध्य छन् ।

नेपाली सडक भारतको अनुगमन

कानेपोखरी–रंगेली सडक, हुलाकी राजमार्ग र महेन्द्र राजमार्ग जोड्ने भित्री सडक हो । २५ किलोमिटर लम्बाई रहेको यो सडक निर्माणको जिम्मा शुरुमा भारतीय कम्पनीले नै पाएको थियो । तर निर्माणको ठेक्का पाएको कम्पनी आफैँ भाग्यो ।

भारतीयले नसकेपछि निर्माणको जिम्मा नेपाली कम्पनीले पाए पनि अनुगमनको अधिकार भने नेपाललाई छैन । कानेपोखरी–रंगेली सडकको अनुगमनको काम भने भारतले नै गरेको छ । भारतीय पक्षले अनुगमन गर्ने सडक कानेपोखरी–रंगेली खण्डमात्र होइन । सप्तरीमा कल्याणपुर–बोधेबर्साइन् सडकको अनुगमन पनि भारतले इटहरीमा राखेको कार्यालयबाट हुने गरेको छ ।

 news source lokaantar.com 

प्रतिक्रिया दिनुहोस्