| बुधबार, अशोज २३, २०८१

प्रदेश ४ मा खानी उत्खनन्‌को काम सुरु गरिन्छ : मन्त्री लम्साल

प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले वनजन्य उद्योग स्थापना, जडिबुटी निकासी र प्रदेशभित्रका खानीको उत्खनन्‌का लागि सरकार लागि पर्ने बताएका छन्। प्रदेश सरकारले आफूलाई चाहिने ऐन, कानुन, नीति निर्माणमा लागिसकेको बताए। ऐन कानुन र नीति निर्माणमा सहयोग गर्नका लागि मन्त्री लम्सालले भने, ‘सवै पक्षको सहकार्य आवश्यक छ।’ मन्त्री लम्सालले अस्तव्यस्त रहेको प्रदेशलाई नयाँ दिशामा हिँडाउनका लागि अहिले नीति निर्माण र कानुन तर्जुमाको काम भइरहेको जानकारी दिए।

मन्त्रीमा नियुक्त भएपछि पहिलोपटक आइतबार गृह जिल्ला पर्वत आएका मन्त्री लम्सालले समग्र प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन उद्योग भएको बताएका छन्।  पोखरा, मनाङ, मुस्ताङलगायत ११ वटै जिल्ला पर्यटनमैत्री रहेको बताउँदै लम्सालले तत्काल आवश्यक कार्ययोजना बनाएर अघि बढ्ने तयारीमा रहेको उल्लेख गरे। मुलुक मै पर्यटनको सबैभन्दा सम्भावना रहेको यो प्रदेशमा पर्यटनलाई उद्योगको रूपमा विकास गर्ने उनको भनाइ छ।

लम्सालले प्रदेश राजधानी पोखरामा दशहजार व्यक्ति अट्ने क्षमताको सिटी हल र प्रदेश ४ मा तीन हजार घरमा होमस्टे सुविधा विस्तार गरिने बताए। पाँच वर्षभित्र २५ हजार पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्नका लागि पहिला आवश्यक संचरना निर्माण गर्नुपर्ने बताउँदै पर्यटकलाई पोखरामा मात्र नभई प्रदेशका सवै जिल्लामा पुर्‍याउने गरी व्यवस्था गर्नुपर्ने भनाई राखे।

मन्त्री लम्साललाई जिल्ला समन्वय समिति पर्वत, मोदी गाउँपालिका, उद्योग बाणिज्य संघ, फर्निचर व्यवसायी संघ, नेकपा एमाले पर्वत र फलेवास नगरपालिकाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्