| आइतवार, बैशाख २, २०८१

भिमसेन थापा गाउँपालिकाको ११ औँ गाउँ सभा सम्पन्न

भिमसेनथापा गाउँपालिकाको ११ औं हिउँदे गाउँसभा सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाले विभिन्न विधेयकका साथै चालु वर्षको बजेट तथा कार्यक्रम संशोधन तथा विभिन्न समितिका प्रतिवेदनहरु पेश गर्दै गाउँसभा सम्पन्न गरेको हो ।


कार्यक्रममा पालिकाको गाउँ प्रहरी विधेयक, जुवा तास नियन्त्रण विधेयक, मदिरा नियन्त्रण विधेयक तथा स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक उपर छलफल भई पारित भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले बताए । चालु आ.ब. २०७९।०८० को बजेट तथा कार्यक्रम संशोधन तथा विभिन्न समितिका प्रतिवेदनहरु पेश भएको उनले बताए । गाउसभामा राजश्व परामर्श समितिको प्रतिवेदन तथा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन पालिका उपाध्यक्ष अमृत देवी वस्तीले प्रस्तुत गरेका थिए ।


सभाका सदस्य एवं लेखा समितिका संयोजक राम प्रसाद पाण्डेले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । उनले गाउँसभा समक्ष आगामी दिनमा पालिकालाई शुन्य वेरुजुको स्थितिमा लैजान आफूले कार्य गर्ने बताए ।


त्यसै गरी सभाका सदस्य एवं पूर्वाधार विकास समितिका संयोजक विकास श्रेष्ठले आर्थिक वर्ष २०७८।०७९ को प्रगति प्रतिवेदन तथा चालु आब २०७९।०८० को अर्धवार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जराको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष अमृत वस्ती, पालिका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको जनप्रतिनिधि, कर्मचारी, स्थानीयबासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्