| सोमवार, चैत्र ३, २०८१

प्रहरी

कालीकोटमा विप्लव नेतृत्व नेकपाले थाल्यो सडक निर्माण

जिल्लाको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि माल्कोट रुप्सासम्मको ४० किलोमिटर सडक खण्ड नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्माण गर्न थालेको छ। सडक संजालले नछोएको नरहरिनाथ गाउँपालिकामा सडक निर्माणको काम थालिएको हो।

खुलालदेखि मालकोट–रुप्सा हुँदै कोटबारासम्म ४० किलोमिटर सडक प्राथमिकताको आधारमा निर्माण गर्न लागिएको र यसलाई लालु–लैफु शहीद मार्ग नामकरण गर्ने तयारी गरिएको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी मणिलाल ऐडीले बताए। ‘हामीले लामो प्रतीक्षामा रहेको सडक निर्माणको काम थालेका छौँ’, उनले भने, ‘यस आर्थिक वर्षमा केही खण्ड काम सक्ने तयारी गरेका छौँ।’

सडक निर्माण जनपरिचालनबाट गरिने र २१ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको सडक निर्माणमा इन्जिनियर नरेन्द्र बिकले बताए। ‘यो सडक निर्माणका लागि हाललाई १५ करोड रकम विनियोजन गरिएको छ’, उनले भने, ‘यसैबाट डोजरका लागि सात करोड बजेट छुट्याइएको छ।’ लामो समयदेखि सडक निर्माणका लागि लाखौँ रुपैयाँ खर्च गरिएको सडक पूर्ण रूपमा निर्माण नभएको र ठाउँठाउँमा माटो खोस्रने काम मात्र गरिएको छ। सडक खण्डमा चौडाई नौ मिटर बनाइने इन्जिनियर बिकले बताए। ‘यो सडक निर्माण गर्न लाखौँ रुपैयाँ खर्च गरिएको छ’, उनले भने, ‘कुनै ठाउँमा सडक निर्माण गरिएको नाम निशानै छैन। अब यो सडक नौ मिटर चौडाइ काटिने योजना रहेको छ।’

प्रतिक्रिया दिनुहोस्