| शनिबार, बैशाख ८, २०८१

प्रचण्डको उत्तराधिकारी रेणु, विना र सिर्जनामध्ये को ?

माओवादी केन्द्र र एमालेबीच निकट भविष्यमै पार्टी एकताको प्रक्रिया टुंगोमा पुर्‍याउने गरी गृहकार्य तीव्र ढंगले अघि बढेको छ । पार्टी एकतासम्बन्धी कार्यदलले राजनीतिक मस्यौदा तयार पारी बुझाइसकेको छ । कुनै चामत्कारिक घटना घटेन भने एमाले–माओवादी केन्द्र एकता अवश्यम्भावी छ । तर, राजनीति सधैं सोझो बाटोमा अघि बढ्दैन । अझै पनि एमाले र माओवादीबीच पार्टी एकता नहुने हो कि भन्ने आशंका कायमै छ ।

पार्टी एकता भए वा नभए पनि माओवादी केन्द्रमा अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उत्तराधिकारी को ? भन्ने चर्चा परिचर्चा सुरु भएको छ । नेपालको राजनीतिमा कांग्रेसमा कोइराला परिवारबाहेक अरुको त्यति पारिवारिक विरासत प्रभावकारी देखिएको छैन । एमाले, माओवादी मात्र होइन, अन्य पार्टीमा पनि पारिवारिक विरासत अघि बढाउने नेताको अभाव देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारमा अहिले त्यही संकट आइलागेको छ ।

भएको एउटा छोरा प्रकाश दाहालको अल्पायुमै निधन भएपछि अब प्रचण्डको उत्तराधिकारी को ? भन्ने विषयले सो परिवारमा प्रवेश पाएको छ । प्रचण्ड माइली छोरी रेणु दाहाल, बुहारीद्वय विना मगर र सिर्जना त्रिपाठी, जेठा ज्वाइँ सागर केसी, कान्छा ज्वाइँ जीवन आचार्यमध्ये कसलाई अघि सार्ने भन्ने टुंगोमा प्रचण्ड पुगिसकेका छैनन् । यद्यपि हालै सम्पन्न निर्वाचनमा प्रचण्डले तीनजनालाई निर्वाचनमा उठाएका थिए । जसमा माइली छोरी रेणु भरतपुर महानगरकी प्रमुखमा विजयी भएकी छन् । उनी चितजनमै बस्दै आएकी छन् ।

कान्छी बुहारी विना मगरलाई कञ्चनपुर १ बाट निर्वाचित गराएर मन्त्री बनाउन प्रचण्ड सफल भएका छन् । प्रचण्डले कान्छा ज्वाइँ जीवन आचार्यलाई प्रदेश सभामा मोरङबाट उठाएका थिए । तर, उनी थोरै मतले पराजित बने । अहिले प्रचण्ड निवास खुमलटारमा प्रचण्ड, श्रीमती सीता, बुहारी विना, दुई नाति, जेठा ज्वाइँ सागर केसी र कान्छा ज्वाइँ जीवन आचार्यको परिवार बस्दै आएका छन् । सीता दाहालको स्वास्थ्य स्थिति दिनप्रतिदिन कमजोर बन्दै गएकाले अहिले प्रचण्ड निकै तनावमा छन् । जेठी बुहारी सिर्जनालाई पार्टी कामकै सिलसिलामा पोखरा पठाइएको छ ।

प्रचण्ड परिवार निकट स्रोतका अनुसार उनी माइली छोरी रेणु र कान्छी बुहारी विनामध्ये एकजनालाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्छन् । तर, पार्टी नेतृत्वमा दुवैको हैसियत नभएकाले कसरी उत्तराधिकारी बनाउने भन्नेमा प्रचण्ड चिन्तामा परेका छन् । यस्तो अवस्था कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि परेको थियो । उनले आफ्नो उत्तराधिकारीका रूपमा सुजाता कोइरालालाई स्थापित गरेका थिए । जसको कांग्रेस पार्टीमा निकै आलोचना भएको थियो । news source midianp

प्रतिक्रिया दिनुहोस्