सन्दुक रुइतलाई भारतीय राष्ट्रपतिद्वारा पद्मश्री प्रदान
काठमाडौं : भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेत्र चिकित्सक सन्दुक रुइतलाई भारतको प्रसिद्ध पद्मश्री पदक प्रदान गरेका छन्। सोमबार राजधानी दिल्लीस्थित राष्ट्पति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले रुइतसहित यस वर्ष घोषणा भएका विभिन्न पदक प्रदान गरे।
राष्ट्रपति कोविन्दको आधिकारिक फेसबुक पेजमा लेखिएको छ- ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसबाट दीक्षित भएका नेपालका नेत्र चिकित्सक डा. रुइतले आँखाको मोतियाविन्दुको शल्यक्रियामा लाग्ने खर्च ९० प्रतिशतले घटाएका छन्। उनले हरेक हप्ता २५ सय बिरामीको उपचार गर्छन् र जसले उपचारबापत शुल्क तिर्न सक्दैनन्, उनीहरूको निशुल्क उपचार गर्छन्।’
भारत सरकारले गत माघ दोस्रो साता भारतको चौँथो ठूलो पदक रुइतलाई दिने घोषणा गरेको थियो। विशिष्ट योगदान पुर्याउने विदेशीहरूलाई भारतले यो पदक दिने गरेको छ। २०१७ मा यो पदक माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले प्राप्त गरेकी थिइन्।
ताप्लेजुङमा जन्मिएका रुइत तिलगंगा आँखा अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक हुन्। ६२ वर्षीय रुइतले विकास गरेको लेन्सका कारण आँखाको शल्यक्रियाका लागि हुने खर्च ९० प्रतिशतले घटेको छ। उनले एक लाख भन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया गरेका छन्।
उनले सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका थिए।