| आइतवार, असार ३१, २०८१

चिल्ड्रेनपार्क कि मुकुन्द सेन कोट ?

शिव उप्रेती ।

गोरखा नगरपालिका वडा नं. ५ को हाल चिल्ड्रेनपार्क भनेर चिनिने डाँडाको पुरानो नाम मुकुन्दसेन कोट हो । आधुनिकताले गाँजेको नयाँ पुस्ताले इतिहासको महिमा मनन नगरेपछि यसको सुनौलो इतिहास मासेर आधुनिकताको हुलहुज्जतमा लोकप्रिय बनाउन केही चिल्ड्रेनपार्क भन्न थालियो । चिल्ड्रेनपार्कको नाम पनि परिमार्जन गरी आजभोलि ‘सिपी’ भनेर पुकारिन्छ ।
यो मुकुन्दसेन कोटको इतिहास खोज्दै जाँदा सम्वत्को १५७५ देखि १६१० सम्म पुग्न सकिन्छ, जतिबेला पाल्पाका चक्रवर्ती राजा मुकुन्द सेनले यहाँसम्म राज्य सञ्चालन गरेका थिए ।
पृथ्वीनारायण शाहको राष्ट्र विस्तार पछि एकीकृत देशको नाम ‘नेपाल’ भयो । तर त्यसअघि जुन ठाउँलाई गोर्खा राज्य भनेर चिनिन्थ्यो यो ठाउँ त्यसबेला राजा मणिमुकुन्द सेनको राज्य, वा राजधानी हो । अर्थात्, पाल्पाको तानसेन त्यतिबेलाको राजधानी भए पनि सेन राजाहरू प्रायः यहीं(गोर्खा)मा बसेर शासन चलाउँथे भन्ने विश्वास स्थानीयमा छ । यो विश्वास ऐतिहासिक रुपले पनि भरपर्दो छ ।
मुकुन्द सेनले बाल्यवस्था देखि नै हजुरबा गन्धर्व सेनलाई राज्य सञ्चालनमा सहयोग गर्दै आएका थिए । युवावस्था देखिनै सैनिक नेतृत्वमा लागिरहने समन्वय कार्य, भूमिका निर्वाह गर्नमा उनी खप्पिस थिए । त्यतिबेला पाल्पाका राजा मुकुन्द सेन राज्य एकीकरण अभियानमा थिए । दक्षिणतर्फ अवधमा सफदर जङको शासन चलेको थियो । अवधका नवावहरुसँग मुकुन्द सेनले युद्ध गरी बन्दुक र झण्डा समेत कव्जा गरेका थिए । उनले पूर्वमा गंगा र व्रह्मपुत्रको संगमस्थल, पश्चिममा कुमाउँ, गडवाल र श्रीनगरसम्म राज्य विस्तार गरेका थिए भने उत्तरमा धौलागिरी हिमाल र दक्षिणमा हरिहरक्षेत्रसम्म अजेय राज्य सञ्चालन गरेका थिए ।
उनले भगवान शिववाणी सुनेका थिए भन्ने किंवदन्ती छ । साथै उनलाई भगवान शिवले खड्ग उपाहार दिएका थिए भनिन्छ । सोही खड्गलाई पूजा गर्न उनले यहाँ खड्गदेवी मन्दिर निर्माण गरेका थिए भन्ने इतिहास छ । उनको दरबारभन्दा केही तल उनले नुहाउने धारा छ, जसलाई मिरकोटे धारा भनिन्छ ।
मुकुन्द सेन दुईजना थिए । मुकुन्द सेन प्रथमलाई जीवनको उत्तरार्धमा बन्दीपुर हुँदै देवघाटमा गएर मुनि बनेर तपस्यामा लीन बने र सशरीर परमात्मामा बिलिन भए । मुनि मुकुन्द सेन भन्दाभन्दै पछि उनी मणि मुकुन्द सेन नामले कहलाए ।
मुकुन्द सेन (द्वितीय) पनि मुकुन्द सेन (प्रथम) जस्तै राष्ट्रिय एकतामा महत्व दिने देखिन्छन् । यो समय पृथ्वीनारायण शाहको समय कालमा थियो । यिनले पाल्पालाई केन्द्र मानी रिसिङ, घिरिङ, अर्घाखाँची, गुल्मी, प्यूठान, तनहुँ, लमजुङ, पर्वत, मकवानपुर आदिलाई एउटै गठबन्धनभित्र राखी गोरखाराज्यसँग नै टक्कर लिएको देखिन्छ । सिक्किम र भूटानसम्म पनि पूर्वतर्फका विजयपुर र चौदण्डी क्षेत्रका सेनाहरुद्वारा सम्पर्क बढाएका थिए । भारतको इष्ट इण्डिया कम्पनीसँग पनि पाल्पाको सम्बन्ध राम्रो थियो। यसरी मुकुन्द सेनको पालामा पाल्पाको प्रभाव बढ्दो रहेकोले गोरखाका राजा पृथ्वीनारायण शाह समेत सचेत थिए । पृथ्वीनारायण शाहको वि.सं. १८३१ म स्वर्गारोहण भए पश्चात प्रतापसिंह शाहपछि नावालक रणबहादुर शाह राजा भएको अवस्था र बहादुर शाह बेतिया गई बसेको अवस्थामा राजा मुकुन्द सेनले गोर्खालीले जितेको पाल्पाका राज्यहरु फर्काउने प्रयास गरेको पाइन्छ । यही क्रममा वि.सं. १८३८ को पौष माघ महिनामा गोरखा आक्रमण गर्न आएका थिए । यसरी पाल्पाका राजा मुकुन्द सेन(द्वितीय)ले आफ्नो प्रभाव गोरखासम्म बढाउँदै ल्याएका थिए । उनको वि.सं. १८३९ मा स्वर्गारोहण भयो ।
पाल्पाका राजाको गोरखाका राजा पृथ्वीनारायण शाहसंग नाता साइनो पनि थियो । पाल्पा राज्यको तराई बुटवल खण्डको राज्य सञ्चालन गर्ने जिम्मेवारी मुकुन्द सेनकी जेठी महारानी पुष्पमालाको छोरा विनायक सेनले पाए, यसपछि क्रमशः जसु सेन, दामोदर सेन, बलभद्र सेन र अमर सेनले राज्य गरे । अमर सेनपछि गन्धर्व सेन पाल्पा राज्यका राजा भए । यिनै गन्धर्व सेनकी छोरी कौशल्यावतीलाई गोरखाका राजा नरभूपाल शाहले विवाह गरे । जसको कोखबाट आधुनिक नेपालका निर्माता वडा महाराजाधिराज पृथ्वी नारायण शाहको जन्म भएको हो ।
यिनै मणि मुकुन्द सेन(प्रथम)ले केही समय राज्य चलाएको डाँडा भएकाले यसलाई मुकुन्दसेनकोट भनेर चिनियो । उनले निर्माण गरेको दरबार र महादेवले उपाहारस्वरुप दिएको खड्गको नाममा खड्गदेवी मन्दिर निर्माण गरे । जसलाई अहिले पुरातत्व विभागले पुनर्निर्माण गरेको छ ।
गोरखा सदरमुकामको सबैभन्दा प्राचीन धरोहरका रुपमा रहेको भए पनि प्रचारप्रसारको अभावमा यसको महत्व ओझेलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्