यसरी अघि बढ्दैछन् देउवा, कांग्रेसमा को–को बन्ने भए मनोनित पदाधिकारी ?
काठमाडौं, ४ वैशाख । सभापति शेरबहादुर देउवाको सात्तो लिनसक्ने एकमात्र नेता थिए, स्व. खुमबहादुर खड्का । खड्का देउवाभन्दा सिनियर र उनका हरेक निर्णयका एक भागीदार थिए । भ्रष्टाचारको लेप लागे पनि खड्काले कांग्रेसभित्रको राजनीतिक वर्गमिटरमा आफुलाई उभ्याउने क्षमता राखेका थिए ।
कांग्रेस विभाजन गरेर प्रधानमन्त्री बन्ने देउवाको सपनारथ भरिपूर्ण पारिदिने सारथी पनि थिए । जनआन्दोलन–२ पूर्व विभाजित कांग्रेस प्रजातान्त्रिकको नेतृत्व देउवाले गर्दा वरियताका दोस्रो नेता खुमबहादुर नै थिए । त्यसैले महाधिवेशनपछि खड्काको एउटै अडान थियो– वरियताको दोस्रो र पदीय हिसावमा उप सभापतिको डिमान्ड ! यसै कारण पनि देउवाले महाधिवेशन सकिएको लामो समयसम्म पदाधिकारी नियुक्ति गर्न सकेका थिएनन् ।
संविधानले भ्रष्टाचारीलाई कुनै राजनीतिक जिम्मेबारी दिन नमिल्ने अनुमोदनमा लाहाछाप गरको कारण कांग्रेसभित्रको विधान मिचेर खुमबहादुरलाई उत्तराधिकारी बनाउने चाहना देउवामा नदेखिए पछि पदाधिकारी नियुक्ति भएनन् । बरु, खुमबहादुरसँगै सबैलाई ‘सती जाने’ अवस्था ल्याएर देउवाले विधान नै मिचिदिए । कांग्रेसको विधानले सभापति निर्वाचित भएको २ महिनाभित्र पदाधिकारी नियुक्ति गरिसक्नुपर्ने बाध्यकारी अनुच्छेद पारित गरेको थियो ।
अचानक खुमबहादुरको निधन भयो । अब देउवाको विचार बदलिएको छ । कांग्रेसभित्र शक्ति भए पनि आलोचनाको पहाडमा उनी रमाउन चहाँदैनन् । १६ चैतदेखि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित छ । आउने शुक्रबारदेखि निरन्तरताको तयारी पनि छ । तिनै खुमबहादुरको निधनले कांग्रेसभित्रको सर्वपक्षीय कोणबाट सुरू भएको मन्थन स्थगित भएको थियो ।
देउवाले सुचारू हुने बैठकमा पहिलो प्रस्ताव पेस गर्नेछन्– पदाधिकारी नियुक्ति ! उनका खल्तीबाट उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम आउनेछ । बुढानिलकण्ठ निवासमा भएको छलफलको आधारमा टेक्ने हो भने देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा ज्ञानेन्द्रबहादुर खड्का र सहमहामन्त्रीमा रामचन्द्र पौडेलेको खल्ती अनुमोदन गर्नेछन् ।
गिरीजाप्रसाद कोइरालासँगको विद्रोहको सहयात्री बनेका विजयकुमार गच्छादारका लागि भने उनले ‘वरिष्ठ’ भन्ने नयाँ पद पनि बनाउन सक्नेछन् । वरियतामा गच्छादार हावी बनाउने देउवाको तयारी छ । यो तयारी कसैले रोक्नसक्ने छैन ।
पार्टी सभापतिको दपेटामा परेर कयौं पटक हण्डर खाएका देउवालाई थाहा छ– कांग्रेसको नेतृत्व अधिनायकवादी चरित्रकै हुन्छ । र, सभापति शक्तिशाली ! झन्डै तीन वर्षसम्म विधान मिचेर हिँड्दा पनि शक्तिकेन्द्रमा अलिकति चोट पाएका छैनन् उनले । कांग्रेसको डाइमेन्सन बुझेका देउवाले आलोचना बैठकहरूमा सुनेका छैनन्, मिडियाहरूमा पढेका छन् । ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले नेतृत्वलाई जति गाली गरे पनि सुन्ने धैर्यता बस्छ । तर विधानले दिएको अधिकारहरूले सभापतिको निर्णय अन्तिम हुन्छ’, एक केन्द्रीय सदस्य भन्छन् ।
लामो समय पछि बसेको बैठकमा कांग्रेसको कमजोरीका विषयमा धेरैले सवाल उठाए । तर स्वयं देउवाको कमजोरीका विषयमा पूर्वमहामन्त्री प्रकाशमान सिंहबाहेक कसैले हुंकार छाडेन ।
युवा नेता चन्द्र भण्डारी, प्रदिप पौडेल, कल्याण गुरूङलगायतका नेताले बैठकमा देउवाविरूद्ध वा उनलाई नै ‘प्वाइन्ट आउट’ गरेर कुनै आलोचना गरेनन् । तर विभिन्न मिडियामा उत्रिएर ‘देउवामा पदाधिकारी नियुक्ति गर्ने अधिकार छैन’ भन्ने बयान दिएका छन् । ‘मिडियाले अधिकार सुनिश्चित गरिदिने होइन त्यसका लागि सानेपामा बस्ने बैठकमा आफ्ना विचारमा बहुमत पुराउन सक्नुपर्छ । सभापतिविरूद्ध बोलेर चर्चा कमाउने भन्दा अरु केही काम होइन’, बुढानिलकण्ठ स्रोत भन्छ ।
देउवाले विधान कुल्चेरे कार्यसम्पादन समिति बनाएका थिए । संसदीय समिति पनि बनाए । त्यस निर्णयको मौखिक विरोध गरे पनि युवा नेताहरूलगायतले लिखित र विद्रोहको निर्णय गर्न सकेनन् । ‘यस्ता समिति आवश्यक थिएनन् र ? समयअनुकुलताका आधारमा सभापतिले निर्णय गर्ने हो’, देउवा निकट भन्छन् ।
देउवाले गर्दै आएका निर्णयहरूमा पार्टीभित्रका प्रतिपक्ष मानिने नेता रामचन्द्र पौडेलले आधिकारी र माइन्युटमा हुने गरि कुनै आपत्ति मानेका छैनन् । महामन्त्री डा. शशांक कोइरालाले पनि अहिलेसम्म कडा प्रतिरोध गरेका छैनन् । आधिकारीक विरोध सिंहले पहिलो पटक केन्द्रीय समितिको बैठकमा सुझावपत्रमा लिखित दिएका थिए ।
सभापतिको अधिकारले प्रयोगमा विरोध अथवा आलोचनाको कुनै अर्थ नहुने नेता डा. प्रकाशशरण महत बताउँछन् । कांग्रेसको भविष्यसँग जोडिएको विषयमा सभापति गम्भिर नै हुने उनको तर्क छ ।
देउवाले हिजो पार्टीभित्रको प्रतिपक्ष रहँदाको भोगालाई पार्टी सत्ता हातमा आएपछि अन्यलाई पनि अनुभूत गराइरहेको टिप्पणी कांग्रेसबारे जानकारहरू बताउँछन् । देउवामा गुनासा भन्दा केही नसुन्ने र निर्णय आफैंले लिने प्रवित्ति रहेकाले बाहिर कराउने र भित्र डराउनेहरूका मागको सम्बोधन हुन नसक्ने प्रष्टिन्छ । तर उनले महासमिति बैठक आह्वान गर्नसक्ने अनुमान गरिएको छ ।