| शनिबार, कार्तिक १७, २०८१

कम्युनिष्ट पार्टी नफुट्ने गरी एकता हुन्छ ः प्रधानमन्त्री

मिल्न बाँकी विषय टुङ्गो लगाउने जिम्मा दुई अध्यक्षलाई

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षहरूलाई दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ९ बजेदेखि पौने १ बजेसम्म बसेको बैठकले मिल्न बाँकी विषय टुंगो लगाउने जिम्मा दुई अध्यक्षहरूलाई दिएको हो।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तरिम राजनीतिक प्रतिवेदन र पार्टी विधानमा मिल्न बाँकी रहेका विषय टुंगो लगाउनेछन्। समितिको अर्को बैठकमा एकताको मिति तय गरिने श्रेष्ठले जानकारी दिए।

वैशाख ९ का लागि तय गरिएको एमाले-माओवादी केन्द्रबीचको एकता औपचारिक रूपमा घोषणा हुने/नहुने अन्योलका बीच एकता संयोजन समितिको बैठक बसेको थियो।

पार्टी एकतालगायत विषयमा ओली र प्रचण्डबीच सोमबार भएको वार्ताले मंगलबार बिहानका एकता संयोजन समितिको बैठक तय गरेको थियो।

एकताको गृहकार्य अघि बढे पनि संगठन संरचना, चुनाव चिह्न र निर्देशक सिद्धान्तका विषयमा सहमति हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्