| शनिबार, माघ ५, २०८१

नारायणकाजी

नारायणकाजीले भने म एमाले प्रवेश गर्ने हल्ला झुटो हो

काठमाडौँ ः नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू नेकपा एमालेमा प्रवेश गर्ने भन्ने कुरा झुटो भएको बताएका छन् ।

यस्ता अनावश्यक कुराले कसैलाई पनि भ्रममा पार्न सक्ने अवस्था नरहेको भन्दै उनले आफ्ना बारेमा चलाइएको गलत हल्ला निराधार भएको बताए ।

‘निश्चित रुपमा मैले वामपन्थी गठबन्धन र पार्टी एकताका लागि पहल गरेको हुँ । तर निर्णायक पहल भने प्रचण्ड र केपी ओलीले नै गर्नुभएको हो । दुवै पार्टी एक हुँदैछ । म कमरेड प्रचण्डकै टिमसँग एकतावद्ध छु । अन्यथा सोच्नुपर्ने आवश्यकता छैन’ श्रेष्ठले भने ।

‘जहाँसम्म म एमालेमा जाने भनिएको छ, त्यो सर्वथा झुट हो । त्यसरी सोच्नुपर्ने आवश्यकता पनि छैन ।’

आफूले पार्टी एकताका लागि प्रचण्डलाई कुनै दबाब नदिएको तर सहयोग गरिरहेको श्रेष्ठले बताए । श्रेष्ठले एमाले र माओवादीबीचको पार्टी एकता छिटै हुने दाबी पनि गरे ।

फरक फरक पृष्ठभूमिका दलबिचको पार्टी एकता प्रक्रिया भएकाले केही ढिला हुनु स्वभाविक भएको श्रेष्ठको भनाई छ । एकताको मिति अहिले नै किटान गर्न नसकिए पनि छिटै एकता हुने उनको दाबी छ ।

पार्टी एकता लक्ष्यमुखी हुनुपर्ने भन्दै श्रेष्ठले केही समय शक्ति सुदृढ गर्नका लागि गरिने एकताले जनतालाई केही पनि दिन नसक्ने बताए ।

उनले केही समय सरकार चलाउनका लागि मात्रै एकता हुन लागेको नभै देश र जनतालाई उपलब्धि दिनका लागि दुई दल मिल्न लागेको बताए ।

जनताको जीवन फेर्ने गरी अगाडि बढ्नका लागि समाजिक न्यायसहितको समृद्धि हासिल गर्नु नै अहिलेको लक्ष्य भएको श्रेष्ठले बताए । संविधानअनुसार समाजवादको बाटोतर्फ जाने गरी सैद्धान्तिक रुपमा दुई दलबिच एकता गरिने उनको भनाई छ ।

दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता भएकाले सम्मानजनक एकता हुनुपर्ने श्रेष्ठको भनाई छ । ‘लक्ष्यमुखी, सिद्धान्तनिष्ठ र सम्मानजनक एकता हुन्छ’ श्रेष्ठले भने ।

प्रधानमन्त्री पदलाई आलोपालो गर्ने कुरा आवश्यक नरहेको श्रेष्ठको भनाई छ । ‘वामपन्थी गठबन्धनका तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा मात्रै हामी केन्द्रित र्छौँ ।’

प्रतिक्रिया दिनुहोस्