
अतिवादलाई कुनै ठाँउ छैन ःप्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा अब अतिवादलाई कुनै ठाउँ नभएको बताएका छन् । नेपाल नेत्र ज्योति संघको २५ औं केन्द्रीय सभाको बुधबार भरतपुरमा उद्घाटन गर्दै नेता दाहालले उक्त कुरा बताएका हुन् ।
देशै रहने वा नरहने भन्नेसम्मको अवस्था आएका बेलामा संविधान जारी भएका कारण अब मुख्य समस्याहरु पार भएको उनले बताए। ‘हिजोको अवस्था अलि अर्कै–अर्कै थियो। संविधान आउला/नआउला भन्ने मात्रै होइन, देशै के होला, कसो होला भन्ने अवस्था थियो। यस्तो बेलामा पनि हामीले संविधान ल्यायौँ’ दाहालले भने ‘देशले एउटा बाटो समातेको छ। केही असन्तुष्टि नभएका होइनन् तर अब कुनै असन्तुष्टिहरुले नेपालीलाई छुँदैन ।’
उनले असन्तुष्टि मात्रै नभएर नेपालमा अतिवादलाई पनि कुनै ‘ग्राउण्ड’ नभएको बताए।
अघिल्लो वर्ष निर्वाचनमा बितेका कारण यो वर्ष विकासमा केन्द्रित हुने उनले बताए। ‘देशमा चुनाव भयो। तीनवटै तहमा सरकार बने र काम सुरु भएको छ। अब यो नयाँ वर्षदेखि विकासको एक्सीलेरेटर दबाउने हो ’ दाहालले भने। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले नेपालमा थप माहोल बनाउने बताए।
‘हाम्रो प्रधानमन्त्री भारत जानुभयो। भारतीय प्रधानमन्त्री पनि आउँदै हुनुहुन्छ। उहाँ काठमाडौंसहित जनकपुर र मुक्तिनाथ भ्रमण गर्दै हुनुहुन्छ। यसले एउटा राम्रो माहोल बनाउने छ। फेरि प्रधानमन्त्री ओली चीन जानु हुनेछ। यही वर्ष चीनका राष्ट्रपति नेपाल आउने सम्भावना छ ’ दाहालले भने। त्यसैले यो वर्षदेखि देशले विकासको यात्रा सुरु गर्ने उनले बताए।