
प्रदेश ४ : अर्थमन्त्रीले पेश गरे बजेटको प्राथमिकता, ‘प्रोजेक्ट बैंक’ बनाउने तयारी
३ वैशाख, पोखरा । प्रदेश ४ को सरकारले वैशाख १९ गते बजेट ल्याउँदैछ । बजेटको सिद्धान्त र प्राथमिकता बिहीबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसदमा पेश गरे ।
उनले बजेटमा पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई प्राथमिकतामा राखेको संसदमा जानकारी गराए । राजस्व संकलन गर्ने आधार नबनिसकेका कारण हाल संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानको १ अर्ब २ करोड रुपैयाँकै बजेट ल्याइने अर्थमन्त्री गुरुङले बताए ।
प्रदेश सरकारले पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययनका आधारमा प्राथमिकता दिई योजना बैंक (प्रोजेक्ट बैंक) तयार पार्ने भएको छ । यो आर्थिक वर्षको बाँकी अवधिको बजेटमा प्रदेश सरकारले गर्ने आयोजनाको सम्भाव्यत्ता अध्ययनलाई प्राथमिकता दिने भएको भएको छ ।
प्रदेशभित्रका जलस्रोत, खनिज, जंगललगायतका स्रोत परिचालन गर्न अध्ययन गर्ने सरकारको योजना छ । राजस्वका आन्तरिक स्रोतको खोजी गरी पूर्ण रुपमा परिचालन गर्ने गरी बजेट आउने अर्थमन्त्री गुरुङले बताए ।
बजेटमा पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको छ । नयाँ पर्यटकीय गन्तव्यको खोजी, ग्रामिण पर्यटन प्रवर्द्धनद्वारा रोजगारीका अवसर सिर्जना गर्ने बजेटको लक्ष्य छ । प्रदेशमा आर्थिक गतिविधि बढाउन र समृद्धि हासिल गर्न ऊर्जा क्षेत्रमा लगानी केन्दि्रत गर्न बजेटले जोड दिने बजेट प्राथमिकतामा उल्लेख छ ।
निर्माणधीन जलविद्युत निर्माण समयमै सम्पन्न गर्न समन्वय र सहकार्य गर्ने गरी बजेट आउन लागेको छ । सरकार, निजी क्षेत्र र सहकारीको सहकार्यमा प्रदेशको नमुना जलविद्युत आयोजना निर्माण गर्ने सरकारको योजना छ । उज्यालो प्रदेश अन्तर्गत २ वर्षभित्र सबै गाउँबस्तीमा विद्युतीयकरण गर्ने सरकारको योजनालाई बजेटले जोड दिने भएको छ ।
प्रदेशमा एउटा ठूलो औद्योगिक क्षेत्र र प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने नीति बजेटले अबलम्बन गर्ने छ । प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ । उत्पादनशील जमिन बाँझो राख्नेलाई निरुत्साहित गर्ने र कृषि क्षेत्रको विचौलिया अन्त्य गर्न सहज बजार पहुँचको व्यवस्था मिलाउने गरी बजेट आउने अर्थमन्त्री गुरुङले जानकारी दिए ।
बजेटले प्रदेशका गौरवका आयोजना पहिचान गरी लगानी बढाउने योजना राखेको छ । प्रत्येक स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीसँग जोड्ने सडकको व्यवस्था गर्ने, एकीकृत बस्ती र आधुनिक सहर निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ । शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी लगायतमा जोड र गुणस्तरीयता बृद्धि गर्ने गरी बजेट ल्याइने अर्थमन्त्री गुरुङले बताए ।
सार्वजनिक सेवालाई प्रभावकारी बनाउन पूर्वाधार निर्माण गर्न जोड दिइएको छ । भौतिक पूर्वाधार विकासमा पछाडि परेका क्षेत्र र समुदायको पहिचान गरी विशेष कार्यक्रम ल्याउन बजेटले सम्बोधन गर्नेछ ।
सांसदहरुले के भने ?
बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा अर्थमन्त्री गुरुङ वक्तव्यसहित संसदमा प्रस्तुत गरेपछि सांसदले त्यसमाथि राय राखेका छन् ।
सांसद इन्द्रलाल सापकोटाले सरकारले प्रोजेक्ट बैंक बनाउने गरी ल्याउन लागेको बजेट स्वागतयोग्य रहेको बताए । प्रदेशका जनताले प्रदेशसभा र नीति तथा कार्यक्रमलाई चनाखोपूर्वक हेरिरहेकाले तिनलाई सम्बोधन हुने गरी बजेट ल्याउनुपर्ने बताए ।
सांसद कृष्णचन्द्र नेपालीले नारायणी किनारका बोटे, माझी, मुसहरदेखि हिमाली क्षेत्रका भेंडा पाल्ने जनतासम्मलाई बजेट छोयो कि छोएन भनेर ध्यान दिनुपर्ने बताए ।
सांसद रामजी बरालले बजेटले सांसदलाई सहिद, वेपत्ता, घाइतेको परिवारजनको मनमा मल्हम लगाउनुपर्ने बताए ।