
एमाले–माअोवादीलाई ठिक पार्नु कांग्रेसको ड्युटी हो ः गगन
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन् । गुल्मी जाने क्रममा बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले एकताका लागि शुभकामना दिए ।
एमाले र माओवादीले आपसमा पदको भागबण्डा मिलाउन नसक्ने तर, अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर प्रचार गर्नु लज्जास्पद भएको टिप्पणी गरे ।
‘एमाले र माओवादीबीचको एकता प्रक्रिया उहाँहरुको आन्तरिक विषय हो, यसमा हामीलाई कत्ति पनि चासो छैन, उहाँहरु मिल्नोस् भन्ने शुभकामना छ’ थापाले भने, ‘तर, आफूहरु पदको भागबण्डामा नमिल्ने अनि बाहिर अदृश्य शक्ति र के के ले गर्दा एकता भाँड्न खोजिँदैछ भनेर अरुलाई दोष लगाउने, यस्ता कुरा गर्दा लज्जाबोध हुनुपर्ने हो ।’
युवा नेता थापाले सरकारका राम्रा कामहरुमा कांग्रेसले पूर्ण सहयोग गर्ने बताए । ध्वंशकारी भूमिका नखेल्ने भन्दै उनले भने, हिजो चुनावमा गरेका बाचाहरु सरकारले सकारात्मक ढंगबाट अघि बढाउन चाहन्छ भने हाम्रो सहयोग रहन्छ । तर, त्यसबाट बरालिन खोज्यो भने ठीक ठाउँमा राख्ने हाम्रो ड्युटी हो ।’
कांग्रेसकै नेताहरुले सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताइरहँदा थापाले फरक मत राखे । नेपालका कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट पार्टीको चरित्र छ नै नभएको उनले बताए ।