| शुक्रबार, माघ ४, २०८१

मोदी

नाकाबन्दीपीडित नेपालीबाट माेदीलाई सबैभन्दा बढी खतरा

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीलाई नेपालमा सबैभन्दा बढी खतरा भारतीय नाकाबन्दीबाट क्रुद्ध सामान्य नेपाली नागरिकबाट हुनसक्ने सुरक्षा विश्लेषण गरिएको छ।

 

सुरक्षा निकायहरुले उनको सुरक्षा चुनौतीको विश्लेषण गर्दै संस्थागतभन्दा नाकाबन्दीका कारण चिढिएका नागरिकबाट बढी खतरा रहेको औंल्याएका हुन्।

नेपाली सेनाको डिर्पाटमेन्ट अफ मिलिट्री इन्टिलिजेन्स, नेपाल प्रहरीको विशेष ब्युरो र राष्ट्रिय अनुसन्धान विभागले तयार पारेका छुट्टा छुट्टै सुरक्षा चुनौतीमा नाकाबन्दीबाट आक्रोशित नेपालीलाई खतराको एक नम्बर सूचीमा राखिएको छ। आक्रोशित नेपालीबाट मोदीविरुद्ध दुव्र्यवहार हुनसक्ने खतरा सुरक्षा अंगले औंल्याएका छन्।

यो स्थितिलाई ध्यानमा राख्दै मोदीलाई यसपटक सर्वसाधारण नजिक पुग्न रोक्ने सुरक्षा रणनीति बनाइँदैछ। विदेश भ्रमणमा मोदीले ती देशका नागरिकसँगको ‘सामिप्यता र ‘सेल्फी’लाई आफ्नो राजनीतिक स्टन्ट बनाउँदै आएका छन्। पहिलो पटक नेपाल आउँदा उनले आकस्मिक रुपमा चावहिल र कालिमाटीमा सर्वसाधारणसँग सेल्फी खिचेका थिए। त्यतिबेला काठमाडौंमा मोदीको लोकप्रियता चुलिएको थियो।

तर वि.सं. २०७२ असोजमा संविधान सभाले जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि ६ महिना नाकाबन्दी गरेको थियो। अमानवीय सो नाकाबन्दीपछि नेपालमा मोदीको छवि एउटा भिलेनको रुपमा रहँदै आएको छ। त्यसैले आकस्मिक रुपमा मोदी भिडतर्फ सोझिए के गर्ने भन्ने विषयमा काठमाडौंसहित जनकपुर र मुस्ताङको सुरक्षा योजना तयार पारिँदैछ।

मोदीलाई अरु को को बाट खतरा छ त?

आतंकबादी र धार्मिक अतिबादी
सुरक्षा निकायको विश्लेषण मोदी हिन्दु धर्मका कट्टर अनुयायी र पृष्ठभुमी भएका नेता भएकाले उनलाई गैर हिन्दु धार्मिक कट्टरपन्थी समुहबाट आक्रमण हुनसक्ने सबैभन्दा बढी खतरा छ।

विशेष गरी नेपालमा उपस्थिति देखिएका इन्डियन मुजाहिद्दिन (आईएम) बाट उनलाई सबैभन्दा बढी खतरा रहेको निष्कर्ष सुरक्षा निकायले गरेका हुन्। आईएमलाई अन्य अतिबादी र आतंकबादी संगठनको सहयोग रहनसक्ने आँकलन सुरक्षा निकायको छ।

त्यसपछि अल कायदा, आईएसआईएस, लस्कर–ए तयबा, जैस–ए–मोहम्मद, हिजबुल मुजाहिद्दिन र तस्रीक–ए–तालिबानबाट समेत मोदीलाई खतरा रहेको विश्लेषणअनुसार सुरक्षा तयारी भइरहेको छ।

ग्रेटर नेपाल र विप्लव समूह
मोदीलाई लक्षितभन्दा पनि उनको भ्रमण स्थल र कार्यक्रम स्थल ग्रेटर नेपाल तथा विप्लब माओवादीका कार्यक्रताले बिथोल्न सक्ने सम्भावनालाई सुरक्षा चुनौतीका रुपमा बिश्लेषण गरिएको छ।

भारतका परियोजना लक्षित विप्लब माओबादीको श्रृंखलाबद्ध आक्रमणपछि सुरक्षा निकायले देशभरि नै नेकपा माओवादीका नेता कार्यकर्ता उपर निगरानी र धरपकड बढाइरहेको छ। सुरक्षा उच्च स्रोतका अनुसार विप्लबका नेता कार्यकर्तालाई धनुषा, पर्सा, बारा, महोत्तरी र सर्लाहीमा विशेष ब्युरोको सहयोगमा पक्राउ गरिएको छ। यद्यपि प्रहरीले पक्राउहरुको विवरण भने गोप्य राखेको छ।

प्रधानमन्त्री मोदी जाने जनकपुर र मुक्तिनाथको सुरक्षाका लागि भारतीय बाह्य सुरक्षा एजेन्सी इन्टिलिजेन्स ब्युराे (आईबी) र रिसर्च एण्ड एनालाईसिस विङ (र’अ) का अधिकारीहरुको फरक–फरक टोली खटिएको छ।

भारतीय गुप्तचरको सूचनाका आधारमा अति उच्च सुरक्षा प्रबन्धबीच हिँडडुल गर्ने प्रधानमन्त्री मोदीका लागि स्पेशल प्रोटेक्सन गु्रप (एसपीजी) का अधिकारहरु समेत भ्रमण हुने स्थानको निगरानीमा खटिएका हुन्।

मोदी सुरक्षाका लागि बेग्लै कमाण्ड सेन्टर
प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको सुरक्षाका लागि चारै सुरक्षा निकाय संलग्न रहेको संयुक्त सुरक्षा कमाण्ड सेन्टर गठन गरिएको छ। गृह मन्त्रालय सुरक्षा महाशाखा प्रमुख सहसचिव रामकृष्ण सुवेदीको नेतृत्वले सुरक्षा निकायबीच समन्वय र आपत्कालीन अवस्थामा तत्काल निर्देशनको जिम्मेवारी निर्वाह गर्दैछ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको सहभागितामा सुरक्षा प्रवन्धको तयारी र निर्देशनका लागि कमाण्ड सेन्टरको स्थापना भएको हो।

विश्व शक्ति राष्ट्रको सूचीमा उक्लिएको भारतका कार्यकारी प्रधानमन्त्री मोदीले यही शुक्रबार र शनिबार नेपाल भ्रमण गर्नेछन्। उनी दिल्लीबाट सोझै काठमाडौं आएर जनकपुर जान्छन् वा पटना भएर जनकपुपछि काठमाडौं आउनेछन् यो भने तय भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्