तीन वर्षभित्र नेपाल विद्युतमा आत्मनिर्भर बन्छ ः मन्त्री पुन
उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मंगलबार सार्वजनिक गरेको मन्त्रालयको भावी मार्गचित्रमा ३ वर्ष भित्र मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउने उल्लेख गरिएको हो ।
मंगलबार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै आउँदो तीन वर्षभित्र नेपाललाई विद्युतमा आत्मानिर्भर बनाउने जानकारी गराएको हो । भावी मार्गचित्र सार्वजनिक गर्दै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले विद्युत चुहावट न्यूनिकरण र नियन्त्रण, भार व्यवस्थापन र उर्जा दक्षता कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने योजना अघि सारिएको जानकारी दिनुभयो ।
मार्गचित्रमा लक्षित वर्गमा उर्जा विशेष कार्यक्रम सञ्चालन गरिने स्पष्ट पारिएको छ । मन्त्री पुनले विपन्न वर्गलाई निःशुल्क इनर्जी मिटर जडान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्रालयले उत्पादित विद्युत उपभोक्ता समक्ष पुर्याउन विद्युत वितरण प्रणालीको आधुनिकीकरण एवम् विस्तार गरिने जनाएको छ । मन्त्री पुनले विद्युत प्रसारण लाइन, सञ्चार पूर्वाधार एवम् राजमार्ग तथा सडकलाई एकिकृत करिडोरको अवधारणा अनुरुप अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।