पार्टी एकता लम्बियो ः यस्तो छ कारण
प्रधानमन्त्री केपी ओलीले मंगलबार पूर्वप्रधानमन्त्रीको हैसियतमा बजेटसम्बन्धी छलफलमा बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झस्किए।
सत्तासाझेदार दलका हैसियतले बजेटमा छलफल हुने अपेक्षा गरेका दाहाल ओलीको छलफलमा औपचारिकता मात्र पूरा गरेर फर्किए।
बजेट मात्र होइन, राष्ट्रिय योजना आयोगमा नियुक्तिलगायत महत्त्वपूर्ण निर्णय गर्दासमेत ओलीले दाहालसँग परामर्श गरेका थिएनन्।
‘बजेटबारे माओवादीसँग कुनै परामर्श भएको छैन,’ माओवादीका एक नेताले भने, ‘बजेट मात्र होइन, प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोग गठन गर्दासमेत दाहालसँग परामर्श गरेनन्।’ यसबारे दाहालले ओलीसँग चासो राखेका थिए, ‘हामीसँग परामर्शमा गठन गरेको भए हुन्थ्यो, यो त्यति ठीक भएन।’
स्रोतका अनुसार ओलीले ‘यस पटक यस्तै भयो । तपार्इंको समर्थन भइहाल्छ भन्ने लाग्यो’ भन्ने जवाफ दिएका थिए। दाहालले माओवादीतर्फबाट योजना आयोगका लागि विद्यावारिधि उपाधिप्राप्त दुई व्यक्तिको नाम पनि दिएका थिए। ओलीले तिनलाई राखेनन्।
माओवादीसँगको सल्लाहबिनै योजना आयोगलाई पूर्णता दिए। योजना आयोग पाँच सदस्यीय हुने गरी कार्यविधि बनाउँदा पनि दाहाल अनभिज्ञ रहे।