
अख्तियार काम न काजको भयो ः डा.भट्टराईको
नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवादका ठूला कुरा मात्र गरेर देश विकास नहुने बताएका छन्। आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रतिनिधिसभामा भएको छलफलमा बोल्दै डा. भट्टराईले एमाले र माओवादीको नारा बनेको समाजवादका ठूला कुराभन्दा पनि वृद्धि र विकास गरेर अघि बढ्नुपर्ने बताएका हुन्।
डा. भट्टराईले पूर्वाधारको विकास र समाजिक विकासमा जोड नदिए विकास सम्भव नभएको बताए। उनले भने, ‘समाजवाद ल्याउनका लागि विकास गर्नै पर्छ। विकास अहिले दुई प्रकारका छन्। एउटा सामाजिक विकास र अर्को पूर्वाधार विकास।’ डा. भट्टराईले पूर्वाधार विकासअन्तर्गत रेलमार्ग, सडक विकासलगायतका पूर्वधारको विकास गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘सडक विस्तारको काम नगरी विकास सम्भव छैन। सडक र गाउँलाई सडक सञ्जालमार्फत नजोडे निर्वाहमुखी कृषि प्रणालीको अन्त्य हुँदैन। सडक सञ्जानलले मात्र औद्योगिक अर्थतन्त्र बन्न सक्छ।’ यस्तै समाजिक विकास भनेको शिक्षा रहेको उनले अर्थ्याए।उनले भने, ‘सामाजिक पूर्वाधार भनेको शिक्षा नै हो।
शिक्षालाई व्यवसायिक र प्रविधिक विकास नगरेसम्म विकास सम्भव छैन।’ मुलुकको ७५३ वटै स्थानीय तहमा प्रविधिक शिक्षालय खोल्नै पर्नेमा उनले जोड दिए। प्रधानमन्त्री केपी शर्मा अोलीले करिब महिना दिनअघि वुद्धिजीवी कोट काट्ने मुसाजस्तै भएको भन्दै व्यंग्य गरेका थिए। डा. भट्टराईले प्रधानमन्त्रीको उक्त भनाइप्रति अपत्ति जनजाए। उनले भने, ‘प्रधानमन्त्रीजीले बुद्धिजीवीलाई कोट काट्ने मुसाजस्तै भएको भन्नुभयो। यसले गलत अर्थ लगाएको छ। बुद्धिजीवीले दम्भ गर्छन्। यो म स्वीकार गर्छु। दम्भ मात्र पालेर बस्नु हुँदैन।’ उनले ज्ञान र विज्ञानलाई अवहेलना गरेर देशको विकास हुन नसक्ने जिकिर गरे।