| शुक्रबार, चैत्र ७, २०८१

सुरक्षाका नाममा भारतीय सेना आउनु मर्यादा विपरीत होः नेता बिजुक्छे

सुरक्षाका नाममा भारतीय सेना आउनु मर्यादा विपरीत होः नेता बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका लागि सुरक्षाको नाममा भारतीय सेना आउनु कूटनीतिक मर्यादाविपरीत भएको प्रतिक्रिया दिएका छन्।

उनले मोदीको धार्मिक भ्रमणका क्रममा सेना पठाउनु भारतको हेपाहा प्रवृत्ति भएको आरोपसमेत लगाए। मोदी शुक्रबार दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउने विषयमा बिहीबार थाहाखबरसँग कुराकानी गर्दै अध्यक्ष बिजुक्छेले नेपाली मित्र र पाहुनालाई नेपाली सेनाले सुरक्षा दिन सक्षम भएको बताए। उनले भने, ‘नेपालमा कुनै आतंकवादको खतरा छैन। जसरी नेपाल र नेपालीको सुरक्षा नेपाली सेनाले गर्न सक्षम छ, त्यसरी नै नेपाली मित्र र पाहुनाको सुरक्षा पनि नेपाली सेनाले गर्न सक्छ।’ बिजुक्छेले नेमकिपाको दृष्टिकोणमा भारतीय जनता पार्टी र शिवसेनाको गतिविधिले नेपाल र भारतको सम्बन्धमा प्रश्न चिह्‍न उठाएको जिकिर गरे।

उनले भने, ‘यसरी धम्की दिएर, शक्ति देखाएर मित्रता अगाडि बढ्दैन। यस विषयमा नेपाल सरकारले गम्भीर भएर सोच्नुपर्छ। नेपालमा भारतको थिचोमिचो भइरहेको छ, त्यसमा भारतिय जनताको समर्थन छैन। त्यो विषयमा नाकाबन्दीका क्रममा भारतीय सांसदमा कुरा उठ्नुले पनि स्पष्ट हुन्छ। अहिले पनि यो विवादको विषय बन्न सक्छ।’ अध्यक्ष बिजुक्छेले विदेशी पाहुना आउँदा नागरिक अभिनन्दन गर्नु स्वाभाविक भएपनि राजधानी बाहिर र विदेशी भाषामा समेत अभिनन्दन गर्नु गलत भएको बताए। ‘अभिनन्दनको भाषा नेपाली र अंग्रेजीमा राख्नुपर्छ। अहिले आएको चार भाषाको अभिनन्दन गलत हो।’ अध्यक्ष बिजुक्छेले भने, ‘हिन्दीसँग हाम्रो लेनदेन छैन। नेपाली र अंग्रेजी हुनुपर्छ। यस विषयमा परराष्ट्र मन्त्रालयले पनि निकै गम्भीर ढंगले सोच्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्