| बिहिबार, मंसिर २०, २०८१

ओली

मोदीलाई स्वागत गर्न जनकपुर पुगे ओली

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जनकपुर आइपुगेका छन्।

 

कुर्ता कमिजमा लगाएर उनी जनकपुर अाएका छन्। ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक जनकपुर आएका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा जम्मा दुई घन्टा १० मिनेट बिताउनेछन्। शुक्रबार बिहान १०ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने मोदी १०ः३० बजेसम्म जानकी मन्दिर पुग्नेछन्। उनलाइ त्यहाँ प्रधानमन्त्री ओलीले मोदीलाई स्वागत गर्नेछन्। विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मोदीलाई स्वागत गर्ने कार्यक्रम छ।

मन्दिरमा पूजापाठ सकेर प्रधानमन्त्रीद्वय ओली र मोदीले संयुक्त रूपमा जनकपुर–अयोध्या (भारत) बस सेवा शुभारम्भ गर्नेछन्। लगत्तै मन्दिर परिसरमै पत्रकार सम्मेलन गरी रामायण सर्किटको घोषणा गरी करिब ११ः२५ बजेसम्म बाह्रबिघा मैदानका लागि निस्किनेछन्। त्यहाँ स्थानीय सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत हुनेछ।

त्यसपछि जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मोदीलाई नागरिक अभिनन्दन गर्नेछन्। मोदीले प्रमुख वक्ताको रूपमा आफ्नो सम्बोधन सकेपछि मुख्यमन्त्री राउतले धन्यवाद ज्ञापन गर्दै समारोह समापन भएको घोषणा गर्नेछन्। त्यसपछि मोदी पुनःजनकपुर विमानस्थल पुगेर काठमाडौंका लागि उड्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस्