| बिहिबार, मंसिर २०, २०८१

मोदीले जानकी मन्दिरमा यसरी गरे पूजा

मोदीले जानकी मन्दिरमा यसरी गरे पूजा

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आज जनकपुरधामस्थित जानकी मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चना गरेका छन्। मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र  गराइने परम्परा छ।

जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुन्। षोडशोपचार विधिबाट गरिने पूजामा पञ्च आहुति,पञ्चतन्त्र,पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी पूजा आराधना गराइन्छ,जसमा माता सीतालाई वस्त्र,गरगहना र शङ्गारका सामग्री अर्पण गरिने चलन छ। ईश्वर अवतार महामानवका रूपमा भएको भावभूमिमा सीतालाई सुशील पुत्री,धीर गम्भीर राजकुमारी,आज्ञाकारी शिष्या,अनन्त सखी,मर्यादित पत्नी,मृदुभाषणी गरिमामयी कुलवधु,प्रकृति स्वरूपा सबल नारी,संकटका बेला स्मरणीय चरित्र,ममतामयी माता तथा देवतुल्य भएकी कारण सीतालाई पूज्यनीय र अनुकरणीय मानिएको छ।

यस सन्दर्भमा एक पटक भारतीय समाजवादी नेता चन्द्रशेखर जनकपुरधाम आएका बखत आयोजित अभिनन्दन कार्यक्रममा भावविभोर भई जानकीको वन्दना गर्दै भगवान् रामलाई पुरुषार्थको प्रेरणा जानकीबाट नै प्राप्त भएको प्रसङ्गले पनि अनन्य भावलाई स्पष्ट गर्छ। सनातन संस्कृतिको विशिष्ट तत्वका रूपमा सम्पूजित जानकी माताको दर्शन सन्दर्भमा यसअघि भारतीय राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी,ज्ञानी जेल सिंह र प्रणव मुखर्जीले पनि धर्ती पुत्री जानकीको पूजाआराधना गरेको देखिन्छ।

जनकपुरधाम मिथिलाका राजा जनकको घर र जानकीको जन्मस्थल भएकाले विदेह परम्पराको निरन्तरताका रूपमा विशिष्ट पाहुनालाई षोडशोपचार विधिबाट पूजा अर्चना गराइने परम्परा छ। जनक वंशको नामबाट यस नगरको नाम जनकपुरधाम रहन गएको हो र पौराणिककालमा मिथिला प्रदेशको राजधानी रहेको थियो। जानकी मन्दिरलाई माता जानकीको निवासस्थल मानिएको छ। धार्मिक मान्यताअनुसार जानकी मन्दिरको प्रधान गर्भगृह माता जानकीको कोहवर छ जहाँ जानकी र राम शयन गर्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस्