मोदीसँग प्रदेश २ का मुख्यमन्त्री राउतको गुनासो
मधेश केन्द्रित दलहरूले राज्यसत्ताले आफूहरूको माग पूरा नगरे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुखेसो पोख्ने गरेको बेलाबेला चर्चा चल्ने गरेको छ। संविधान निर्माणपछि मधेसमा भएको आन्दोलनका समयमा पनि उनीहरूले मोदी समक्ष नेपाल सरकारले आफूहरूको माग पूरा नगरेको दुखेसो पोखेको निकै चर्चा चल्यो।
अहिले पनि मधेस केन्द्रित दलहरूले संविधान संशोधनको माग गरिरहेका छन्। संविधानले उत्पीडित वर्ग, मधेसी, दलित, आदिवासी, मुस्लिमलगायत समुदायको अधिकार सुनिश्चित नगरेको भन्दै मधेस केन्द्रित दलहरूले सरकारलाई संविधान संशोधनमार्फत अधिकारको रक्षा गर्न माग गरिरहेका छन्। संविधान संशोधनका लागि संसदमा दुई तिहाई बहुमत आवश्यक पर्छ। दुई तिहाई बहुमत पुर्याउन र यही माग पूरा गराउनका लागि उनीहरूले सरकारलाई समर्थनसमेत गरेका छन्। नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राज्य सत्ताले विभेद गरेको गुनासो गरे।
उनले पटक पटक नेपालको केन्द्रीय सरकारले मधेसी समुदायप्रति विभेद गरेको भन्दै मोदी समक्ष गुनासो गरे। उनले यो गुनासो प्रदेश २ सरकार र जनताको पक्षबाट राखेको बताए। हिन्दी भाषामा सम्बोधन गरेका उनले मोदीलाई स्वागत गर्न पाउनु आफ्नो सौभाग्य भएको बताउँदै आफ्ना मनमा रहेका सबै दुखेसो मोदी समक्ष राखे। उनले भने, ‘महामहिमज्यू, अब म तपाईंको ध्यान प्रदेश २ मा आकर्षण गर्न चाहान्छु। यो प्रदेश आर्थिक रूपमा अत्यन्त पछाडि छ।’