| बुधबार, अशोज १७, २०८०

माअ‍ोवादी

ओलीलाई तनाव, माअ‍ोवादी केन्द्रले यस्तो भनेपछि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भएको सुरक्षा लगायतका विषयमा सरकार चुप लागेकोप्रति माओवादी केन्द्रले संसदमा असन्तुष्टि जनाएको छ ।

माओवादी प्रवक्तासमेत रहेकी सांसद पम्फा भुसालले मोदीको नेपाल भ्रमणका बेला भारतीय कमान्डो ल्याइएको र त्यसले नेपालको सुरक्षाप्रति प्रश्न उठाएको बताएकी छन् । उनले संसदमा मोदीको भ्रमणका बेलाको सुरक्षा व्यवस्थाले समाजमा प्रश्न उठेको र त्यसले आफूलाई पनि छोएको बताइन् ।

उनले नेपालमा विगतमा चीन र भारतका प्रधानमन्त्री तथा राष्ट्रपति आएको र नेपालले सुरक्षा दिएको बताइन् । उनले नेपाल सुरक्षा दिन सक्षम भए पनि त्यसको पालना नभएको बताइन् ।

भुसालले भनिन्, ‘तीन सयभन्दा बढी भारतीय सुरक्षा कमान्डो ल्याउने र पहिलो घेरामा उनीहरू रहनेले हाम्रो सेनाको सुरक्षा क्षमतामा प्रश्न उठको छ । हाम्रो मन्त्री नै जान नपाउने गरी भारतीय कमान्डोले जनकपुर र मुक्तिनाथमा व्यवहार भएको थियो ।’

उनले भारतीय प्रधानमन्त्रीले सयौं कमान्डो ल्याएकोमा सामाजिक सञ्जालमा कडा प्रश्न उठेको बताइन् । उनले प्रश्न गरिन्, ‘नेपालमा आउने पाहुनालाई सुरक्षा दिन सक्दैनौँ भने किन बोलाउने ?’

उनले आफूलाई नेपाली सुरक्षा निकायले नेपालमा जसलाई पनि सुरक्षा दिने क्षमता रहेको बताइन् । भुसालले नेपालका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीको भ्रमण तालिका भारतबाट तय भएकोप्रति पनि असन्तुष्टि जनाइन् ।

उनले भारतीय मिडियाले मिति तय गर्ने र त्यहीँ अनुसार हुने भएकाले नेपालको परराष्ट्र मन्त्रालय निरीह भएको बताइन् । भुसालले मोदीको नेपाल भ्रमणका बेला मोदीको पार्टी भाजपाका पूर्वसांसद कृति आजादले जनकपुरलाई टुक्र्याएर भारतको राज्य बनाउनुपर्ने भनी दिएको अभिव्यक्तिबारे सरकारले खण्डन गर्नुपर्ने माग गरिन् । प्रवक्ता भुसालले देशले एउटै परराष्ट्र नीति लिनुपर्ने बताइन् । त्यसका लागि सरकारले पहल गर्न माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्