देशभर गुण्डाराज अन्त्य अभियान सुरु गर्दैछौः गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले देशमा सुशासन, अमनचयन र जनताको सेवा सुविधाका लागि एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक भएको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री थापाले देशमा यातायात, कृषि, उद्योगलगायतका धेरै क्षेत्रमा एकाधिकार मुठ्ठीमा लिएर बस्ने गरिएको बताए ।
एकाधिकारले हाम्रो आर्थिक समृद्धि रोकेको बताउँदै उनले देशको विकासका लागि सबै किसिमका एकाधिकार अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए । देशव्यापी रुपमा गुण्डाराज अन्त्यका लागि सरकार लाग्ने र यसका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
देशको पछौटेपनका कारण युवा जनशक्ति देश बाहिर रहेको र तिनलाई स्वदेश फिर्ता गर्न समृद्धि आवश्यक भएको मन्त्री थापाले बताए । राष्ट्रको समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक भएका कारण वामपन्थी शक्ति एक बन्न लागेको बताउँदै उनले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताए ।