देउवा रहेसम्म काङ्ग्रेस कमजोर हुन्छ ः कोइराला
कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइरालाले शेरबहादुर देउवा जति धेरै दिन पार्टी सभापति रहन्छन् त्यति नै धेरै कांग्रेस कमजोर बन्दै जाने बताएका छन् ।
प्रेस यूनियन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसलाई सशक्त बनाउनका लागि सभापति देउवालाई पार्टीबाट हटाउनुभन्दा पनि चाडै महाधिवेशनमा जानुको विकल्प नभएको बताए ।
‘कांग्रेस इतिहासमै कमजोर अवस्थामा गएकोले केन्द्रदेखि प्रदेशसभासम्म न्यून उपस्थित र भातृ संगठनहरु लथालिङ अवस्थामा छ,’ उनले भने, ‘पाका लिडरहरुमा अझै पदीय मोह कायमै भएकोले पार्टीबाट युवा पलायन भइरहेको छ र राज्य व्यवस्थामा महिलाको लागि धेरै ठाउँ सुरक्षित गरिए पनि पार्टीले महिलाहरुका लागि राजनीतिक सशक्तीकरण गर्नेतर्फ ध्यान पुर्याउन सकेको छैन ।’ तदर्थवादमा पार्टी चल्ने हो भने कांग्रेस समाप्त हुने उनको भनाई थियो ।
कोइरालाले सभापति देउवाले आफँैमा अधिकार केन्द्रित गरेर पार्टीमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाए । ‘सबै शक्ति एउटै व्यक्तिमा केन्द्रित भयो भने अधिनायकवाद हुन्छ र शक्ति दुरुपयोग हुन्छ,’ उनले भने, ‘यो अवस्था व्यक्तिको घर, पार्टी र सरकार जहाँ पनि सृजना भयो भने अधिनायकवाद हुन्छ त्यस्तै कांग्रेसमा पनि भएको हो ।’ सभापतिले प्रतिनिधि र प्रदेसभा निर्वाचनमा हारेको नैतिक जिम्मेवारी नलिएकोले डेढ महिना पार्टी बैठक लम्बिएको उनले गुनासो पोखे ।