| शुक्रबार, चैत्र ७, २०८१

काम नगर्ने मानिस कम्युनिस्ट हुन सक्दैनः ईश्वर पोखरेल

काम नगर्ने मानिस कम्युनिस्ट हुन सक्दैनः ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कम्युनिस्टको ‘क’ र कामको ‘क’ समेत मिल्नुपर्ने भन्दै काम नगर्ने जोकोही पनि कम्युनिस्ट हुन नसक्ने बताएका छन्।

एमाले जिल्ला कमिटी ललितपुरका पार्टी ३ सय ५७ जना नयाँ सदस्यहरुको शपथ गराउँदै महासचिव पोखरेलले स्थानीयस्तरका पार्टी कमिटीलाई बैठकका एजेन्‍डा आर्थिक उत्पादन र श्रम सम्बन्धमा केन्द्रित गर्न आग्रह गरे। आर्थिक समृद्धि प्राप्तिको जग निर्माणमा आधारित भएर अघि बढ्न आग्रह गर्दै महासचिव पोखरेलले जिल्ला, क्षेत्र र शाखा कमिटीलाई आर्थिक उत्पादनसँग जनतालाई कसरी जोड्ने भन्ने चिन्तन सहित केन्द्रित भएर कमिटीका बैठकमा एजेन्‍डा तय गर्न आग्रह गरे।

नेपाल सरकारका रक्षामन्त्रीसमेत रहेका पोखरेलले एमाले नेतृत्वको सरकारको प्राथमिकतामा ‘जनताको समृद्धि’ ल्याउनु भएको बताउँदैं श्रममा आधारित जनता र कार्यकर्ता उत्पादनतिर पार्टी कमिटीहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए। ‘अब कार्यकर्ताले भुइँतिर फर्किएर हेर्नुपर्‍यो, यहाँ यति धेरै घरेलु उद्योगका कुरा छन्, सहकारी आन्दोलन ठिक ढंगले अगाडि बढाउनुपर्ने छ।

सहकारी कसरी फस्टाउँछ भन्ने कुरा अब जिल्ला, क्षेत्रीय र शाखा कमिटीको बैठकको एजेन्‍डा बनाउनुपर्छ’, उनले भने, ‘पाटनको हस्तकला कसरी प्रवर्द्धन गर्ने भन्ने कुरा अबको बैठकमा एजेन्‍डा बनाउनुस् र आर्थिक उपार्जनतिर कसरी जोड्ने भन्ने कुरामा ध्यान दिनुस्।’ अहिलेको आवश्यकता श्रम र काममा आधारित कार्यकर्ता भएको उनको भनाइ थियो। ‘कामबाट अलग भएको बतासिएर हिँड्ने एमाले अब काम लाग्दैन,’ पोखरेलले भने।

प्रतिक्रिया दिनुहोस्