नेकपा फुट्ने संकेत, केपी र माधव नेपाल विरुद्ध भिम रावल मोर्चा खोल्दै
नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टीमा नेतृत्वको व्यवस्थापन सहि ढंगमा हुन नसक्दा पार्टी नेताहरुबीचको असमझदारी सतहमा देखिने अवस्थामा पुगेको छ। पार्टी नेता कार्यकर्ताहरुले महसुस गरेको अपमान र पीडा भुसको आगो झै सल्किएको छ। सामान्य हावाको झोकाले नै सो आगोलाई सतहमा देखिने अवस्थामा पुर्याएको छ।
पार्टी एकिकरण गरे लगत्तै दुई पार्टीका अध्यक्षहरुले अब सर्वशक्तिशाली पार्टी बनेको घोषणा गरेका थिए। केपी ओलीले नवगठित दल नेकपा अब दुई पाइलटले चलाउने जेट विमान जस्तो भएको बताएका थिए। तर आफू जेटमा सवार हुँदै गर्दा उनले आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई कसरी अपमानजनक ढंगमा आँसु पिउन वाध्य पारेका रैछन भन्ने कुरा विस्तारै सतहमा आउन थालेको छ। पुराना दिनमा आफूलाई सहयोग गर्ने पार्टी नेता कार्यकर्ताहरुलाई पाखा लगाएका ओलीले धेरै सम्भावना भएका नेताहरुलाई साइजमा राख्न समेत चलखेल गरे। यो चलखेल बुझेका नेताहरु अहिले छलफलमा जुटेका छन्।
यहि छलफलमा रहेका एक नेता तथा नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावल बिद्रोहको मुडमा देखिएका छन्। उनले अध्यक्ष केपी ओली र अर्का नेता माधव कुमार नेपाल विरुद्ध मोर्चावन्दी नै गर्ने तहसम्मको योजना बनाएका छन्। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा पछि प्रदेश नम्वर सातका प्रभावशाली नेता समेत रहेका रावल अध्यक्ष केपी ओलीले पेलिरहँदा टुलुटुलु हेर्नेकी प्रतिरोध गर्ने भन्नेमा कार्यकर्ताहरुसँग छलफलमा जुटेका छन्। आफ्नो आगामी कदमको बारेमा रावलले ओली र नेपाललाई पनि जानकारी गराएको रावल निकट स्रोतले बताएको छ। सम्भवत केही दिनमै रावल पत्रकार सम्मेलन गरेर नयाँ मोर्चाको घोषणा गर्दै छन्।