
प्रदेश सरकारलाई पंगु बनाउन खोजिएको छ ः मुख्यमन्त्री पृथ्वी
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले प्रदेश सरकारलाई पंगु बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
प्रदेशका मन्त्री, सचिव र सांसदहरूका लागि आइतबार पोखरामा आयोजना गरिएको ‘संसदीय अभ्यास र कानुन निर्माण प्रक्रिया’ सम्बन्धी अन्तक्रिर्यामा उनले केही दलका प्रभावशाली नेताहरु अधिकारजति संघमै राखेर प्रदेश सरकारलाई कमजोर बनाएर लागेको आरोप लगाएका हुन् ।
मुख्यमन्त्री गुरुङले स्थानीय तह र संघलाई बलियो बनाउँदै प्रदेश सरकारलाई कमजोर बनाउने र संघीयता नभए पनि हुँदो रहेछ भन्न देखाउन केही नेता लागेको पनि दावी गरे । ‘नेताहरूले बाहिर नभने पनि उनीहरुको आन्तरिक आशय प्रदेश सरकार कमजोर बनाएर केन्द्र सरकार बलियो बनाउने बुझिएकाले सबै चनाखो हुनुपर्ने अवस्था आएको छ’ उनले भने ।
गुरुङले अगाडि भने ‘अपुग स्रोत, अपर्याप्त कर्मचारी, प्रक्रियागत अलमल हेर्दा यस्तो लाग्छ अझै पनि प्रमुख दलका केही प्रभावशाली नेताहरू अधिकार संघमै रहोस् भन्ने मानसिकतामा रहेको देखिन्छ, जनताको अपेक्षा सगरमाथा जस्तो अग्लो छ, अधिकार र प्रक्रियाका हिसाबले हामी अझै केचनामै छौं ।’