
शिक्षक महासंघको माग सम्वोधन गर्न कांग्रेस गोरखाको आग्रह
नेपाली कांग्रेस गोरखाले शिक्षक महासंघका मागहरु जायज भएकाले ती माग संवोधन गर्न नेपाल सरकारसंग आग्रह गरेको छ । जिल्ला कार्यसमितिका सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गरी शिक्षक महांघको माग सम्बोधन गरी विद्यालय सुचारु गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।
‘नेपाल सरकारले २०८० भदौ २७ गते संसदमा पेश गरेको शिक्षा विधेयकले संविधानमा उल्लेखित मौलिक हक अन्तर्गतको शिक्षा सम्बन्धी हकलाई सुनिश्चित गरी विद्यालय शिक्षाका अभिन्न अंग मानिने शिक्षक, कर्मचारी, बाल कक्षाका सहयोगी कार्यकर्ताहरुको सेवा सुविधालाई व्यवस्थित र सम्मानजनक बनाउनु पर्नेमा कटौति गर्न खोज्नु न्यायसंगत देखिँदैन’, सभापति न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शिक्षक महासंघको जायज मागहरुलाई यथासीघ्र सम्बोधन गर्न नेपाली कांग्रेस गोरखा नेपाल सरकारसमक्ष आग्रह गर्दछ । शिक्षण पेशालाई मर्यादित, आकर्षक र व्यवस्थित बनाई शिक्षालाई गुणस्तरीय बनाउनु राज्यको दायित्व हो । त्यसका लागि शिक्षकहरुको सेवा सुविधालाई समयानुकूल परिमार्जन गर्दै लैजान र शिक्षण पेशालाई आकर्षक बनाउनु पनि राज्यको कर्तव्य हो ।’
आन्दोलनरत शिक्षकसंग वार्ता र संवादद्वारा प्रस्तावित शिक्षा ऐनलाई संशोधन र परिमार्जन गरी शिक्षकहरुको जायज माग पूरा गरी बन्द रहेका शिक्षण संस्थाहरु तत्काल सुचारु गर्न पहल गर्न कांग्रेस गोरखाले माग गरेको छ ।
