
कार्यदलका नेताहरुलाई बोलाएर ओलीले भने, ‘जनयुद्ध र पचास प्रतिशत मागे पार्टी एकता हुँदैन’
काठमाडौं, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले–माओवादी एकताको प्रतिवेदन तयार गर्ने समितिमा रहेका एमाले कार्यदलका नेताहरुलाई बोलाएर माओवादीलाई पचास प्रतिशत दिन नसकिने र जनयुद्ध मान्न नसकिने बताएका छन् ।
एमाले स्रोतका अनुसार आइतबार दिउँसो एमाले कार्यदलका सदस्यहरुलाई ओलीले भनेका छन्, ‘माओवादीले जनयुद्ध मान्नुपर्ने अडान लिए एकता गर्न सकिन्नँ । संगठनमा माओवादीलाई पचास प्रतिशत पनि दिन सकिँदैन । त्यस्तो अवस्था आयो भने पार्टी एकता गरिँदैन । यो कुरा मैले बोल्ने मिल्दैन, तपाईहरुले बोल्नुस् ।’
माओवादी अध्यक्ष प्रचण्डले बराबरी हैसियतमा पार्टी एकता हुने सार्वजनिक अभिव्यक्ति दिएपछि ओलीले आफ्ना नेता बोलाएर निर्देशन दिएका हुन् । ओलीले ‘तपाईहरु मीडियामा बोल्नुस्, म पछि हट्दिनँ’ भनेको एमालेका एक नेताले बताए ।
प्रधानमन्त्री ओली चैत्रको २३ गते भारतको औपचारिक भ्रमणमा जाँदैछन् । माओवादीले भ्रमणअघि नै एकता गर्नुपर्ने प्रस्ताव एमालेसँग राखेको थियो । तर, एमाले नेताहरु प्रधानमन्त्री दिल्लीबाट फर्केपछि मात्रै एकता गर्नुपर्ने पक्षमा देखिएका थिए ।
एमाले–माओवादी कार्यदलले एकताको साझा दस्तावेज तयार पारेर शीर्ष नेतालाई बुझाएको छ । दस्तावेजमा जनयुद्धलाई कसरी सम्बोधन गर्ने र एकताको स्वरुप कस्तो हुने भन्ने विषयमा कार्यदलमा देखिएको विवाद शीर्ष नेतासम्म पुगेको छ ।
सरकार गठनअघि एकताबारे सर्वत्र चासो रहे पनि एमाले–माओवादी गठबन्धन सरकारपछि एमाले वृत्तमा एकताप्रति रुचि नदेखिएको माओवादीको आशंका छ । ओलीले जनयुद्धलाई स्वीकार गर्न नसकिने अडान लिएपछि एकता थप प्रभावित हुने अनुमान गरिएको छ ।